२०८३ वैशाख ५ , शनिबार
इनिसाको हत्या विरुद्ध 'खबरदारी र्‍याली'

 न्याय नपाएसम्म नछोड्ने आफन्तको चेतावनी



सुर्खेत। वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बीभत्स हत्या भएको घटनालाई लिएर बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा चर्को प्रदर्शन थालिएको छ। छोरीले न्याय पाउनुपर्ने र अपराधीले उन्मुक्ति पाउन नहुने माग राख्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरू सडकमा उत्रिएका हुन्।

मंगलगढी चोकबाट सुरु भएको प्रदर्शनमा ‘इनिसालाई न्याय देऊ’, ‘दोषीलाई कडा कारबाही गर’ जस्ता नाराहरू गुञ्जिएका थिए। प्रदर्शनकारीहरूले यसलाई ‘खबरदारी र्‍याली’ नाम दिएका छन्। यो र्‍याली एैरीचोक र वीरेन्द्र चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रशासनको ध्यानाकर्षण गराउने कार्यक्रम छ। मृतकका आफन्त चन्द्रबहादुर विकका अनुसार प्रशासनलाई पत्र बुझाएपछि जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्ने तयारी समेत गरिएको छ।

घटना फागुन २३ गते बिहानको हो, जतिबेला ट्युसन हिँडेकी इनिसा शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस र रक्ताम्मे अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल पुर्‍याए पनि डाक्टरले बचाउन सकेनन्। परिवारले यो घटना सामान्य नभई ‘सामूहिक बलात्कारपछिको हत्या’ भएको दाबी गर्दै फागुन २५ गते नै प्रहरीमा उजुरी दिइसकेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाका अनुसार अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक हुन्। प्रहरीले २३ गते नै एक जनालाई र २४ गते थप तीन जनालाई नियन्त्रणमा लिएको थियो।

अहिले सबैको आँखा पोस्टमार्टम र चिकित्सकीय रिपोर्टमा अडिएको छ। बलात्कार भएको हो वा होइन भन्ने कुरा रिपोर्ट आएपछि मात्रै कानुनी रूपमा पुष्टि हुने प्रहरीले बताएको छ। तर, सडकमा उत्रिएका आफन्तहरूले भने घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कार नै भएको भन्दै प्रहरीले निष्पक्ष छानबिनमा कुनै सम्झौता नगर्न दबाब दिएका छन्।

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार