साढे तीन दशकअघि बहुदल ल्याउने लडाइँमा सामेल हुँदा २२ वर्षका ठिटा विष्णु बहादुर खड्काले सायद सोचेका थिएनन्— एक दिन उनी आफैँ मुलुकको नीति निर्माता (सांसद) बन्नेछन्। २०४६ सालको आन्दोलनमा कालो झण्डा बोकेर हिँड्ने, पर्चा पम्प्लेट टाँस्ने र जेलको चिसो कोठामा दिन बिताउने तिनै विष्णु आज सुर्खेतको राजनीतिमा एक ‘इतिहास’ बनेर उदाएका छन्।
२०४६ सालको राजनीतिक विष्फोटन होस् वा त्यसपछिका कठिन दिनहरू, विष्णुले राजनीतिलाई कहिल्यै ‘पेसा’ बनाएनन्, ‘सेवा’को माध्यम बनाए। २०४६ सालको आन्दोलनका बेला उनी दाजुभाइसँग मिलेर सुर्खेतमा बहुदलको पक्षमा आँधीबेरी सिर्जना गरिरहेका थिए। प्रहरी हिरासतको २६ दिन र पटक-पटकको जेलनेलले उनको अठोटलाई कमजोर बनाउन सकेन, बरु झन् खारियो। बहुदल घोषणा हुनुभन्दा एक दिनअघि जेलमुक्त भएका विष्णु त्यसयता निरन्तर नेपाली कांग्रेसको झण्डामुनि रहेर सङ्गठन निर्माणमा खटिए।

विष्णुको परिचय केवल एक राजनीतिकर्मीमा सीमित छैन। २०४२ सालमा आमाको नाममा ‘माया मेडिकल’बाट सुरु भएको उनको व्यावसायिक यात्रा आज अस्पताल, यातायात र इन्धन व्यवसायसम्म फैलिएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्व उपाध्यक्ष र मध्यपश्चिम यातायात व्यवसायी संघको संस्थापक अध्यक्षका रूपमा उनले सुर्खेतको अर्थतन्त्रमा गति दिएका छन्। उनको व्यावसायिक सफलताको पछाडि नागरिकप्रतिको सेवाभाव लुकेको छ। कैयौँ गरिब र असहायको उपचारमा उनले आफ्नो ढुकुटी खोलेका छन्। कार्यकर्ता र नागरिकको दुःखमा औषधि र उपचारको जोहो गरिदिने उनको स्वभावले नै उनलाई एक ‘भरपर्दो नेता’का रूपमा स्थापित गराएको छ। धेरैले उनलाई ‘पूर्णबहादुर खड्काको भाइ’ भन्दै उनको व्यक्तित्वलाई ओझेलमा पार्ने प्रयास गरे। तर, विष्णुले प्रमाणित गरे कि राजनीतिमा सम्बन्धले बाटो देखाउन सक्ला, तर जनताको मन जित्न आफ्नै कर्म र निष्ठा चाहिन्छ।

विपक्षीहरूले ‘दाइको छायाँ’ भनेर होच्याउन खोजे पनि सुर्खेत क्षेत्र नं. १ का मतदाताले विष्णुलाई ‘आफ्नो मान्छे’का रूपमा रोजे। दाइ पूर्णबहादुर खड्काले पटक-पटक उचाइ कायम गरेको यो क्षेत्रमा विष्णुको विजय केवल एउटा सिटको जित थिएन, यो नेपाली कांग्रेसको साख जोगाउने र कार्यकर्तामा नयाँ ऊर्जा भर्ने जित थियो। प्रतिनिधिसभा निर्वाचनअघि उनीप्रति शङ्का गर्नेहरू धेरै थिए— ‘के उनले जनताको मत जित्लान्? के उनी साँचिकै सांसद बन्ने योग्य छन् ?’ तर, फागुन २१ को परिणामले सबै शङ्काको बादल हटाइदियो। जनताले उनलाई पत्याए, अनुमोदन गरे र संसदको बाटो देखाइदिए।
२०२४ सालमा जन्मेका र संघर्षको भट्टीमा ततिएका विष्णु बहादुर खड्काका लागि अबको यात्रा थप चुनौतीपूर्ण छ। व्यापारिक साम्राज्य सम्हाल्दै आएका उनले अब देशको नीति निर्माणको ‘सगरमाथा’ चढ्नु छ। दाइको विरासत धान्ने मात्र होइन, आफ्नै मौलिक राजनीतिक शैली स्थापित गर्दै हुम्ला र सुर्खेतका नागरिकको आशालाई कति सम्बोधन गर्लान्— त्यो नै उनको आगामी ५ वर्षको अग्निपरीक्षा हुनेछ। जे होस्, २२ वर्षको उमेरमा जेलको कोठाबाट सुरु भएको उनको यात्राले आज संसद् भवनको ढोका ढक्ढक्याएको छ। यो यात्राले प्रमाणित गरेको छ— निष्ठा, सेवा र सङ्घर्ष गर्ने मानिस ढिलो चाँडो जनताको नजरमा पर्छन् नै।
प्रतिक्रिया दिनुहोस्