२०८३ वैशाख ५ , शनिबार
कर्णाली चुनावको तीतो यथार्थ

९० उम्मेदवारको बिजाेग, धरौटी नै जफत



सुर्खेत । कर्णाली प्रदेशको चुनावी नतिजाले उम्मेदवारहरूको लोकप्रियताको एउटा नमिठो तस्बिर देखाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनमा होमिएका कुल १३८ उम्मेदवारमध्ये झण्डै ६५ प्रतिशत अर्थात् ९० जनाको जमानत जफत भएको छ। निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार धेरैजसो उम्मेदवारले आफ्नो धरौटी जोगाउन आवश्यक न्यूनतम मतसमेत ल्याउन सकेनन्।

कहाँ कतिको जमानत जफत ? जिल्लागत विवरण हेर्ने हो भने सुर्खेतमा सबैभन्दा धेरै उम्मेदवारको धरौटी जफत भएको छ। सुर्खेत क्षेत्र नं. १ का १३ मध्ये १० जना र क्षेत्र नं. २ का १७ मध्ये १४ जना उम्मेदवार रित्तो हात घर फर्कनुपर्‍यो। यस्तै, सल्यानमा १०, रुकुम पश्चिममा ९, जाजरकोटमा ८, दैलेख क्षेत्र नं. १ मा ६ र क्षेत्र नं. २ मा ७ जनाको जमानत जफत भएको छ। हिमाली जिल्लाहरूको अवस्था पनि उस्तै छ— कालिकोट, जुम्ला र डोल्पामा ६–६ जना, मुगु र हुम्लामा ४–४ जना उम्मेदवारले आफ्नो साख जोगाउन सकेनन्।

१०० मत पनि नपाउने उम्मेदवार सबैभन्दा उदेकलाग्दो कुरा त के छ भने, चुनाव जित्ने दाबीसहित मैदानमा उत्रिएका ३६ जना उम्मेदवारले त १०० मत पनि कटाउन सकेनन्। यसले कर्णालीमा साना दल र स्वतन्त्र उम्मेदवारहरूप्रति मतदाताको विश्वास निकै कमजोर रहेको प्रस्ट पार्छ।

बदर मतको चाङ एकातर्फ उम्मेदवारको जमानत जफत भइरहँदा अर्कोतर्फ मतदाताको मत पनि खेर गएको छ। कर्णालीका १० जिल्लामा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल ४३ हजार ५०० मत बदर भएको छ। यति ठूलो सङ्ख्यामा मत बदर हुनुले निर्वाचन शिक्षाको अभाव र मतदाताको अलमललाई पनि छर्लङ्ग पारेको छ।

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार