सुर्खेत। वीरेन्द्रनगरमा ट्युसन पढ्न हिँडेकी १६ वर्षीया किशोरी इनिसा विकको शंकास्पद मृत्युले यतिबेला सिंगो सुर्खेत शोकमा डुबेको छ। गुर्भाकोट–६ बाट वीरेन्द्रनगर–१ मा बसेर कक्षा ११ मा अध्ययन गर्दै गरेकी इनिसाको फागुन २३ गते भएको मृत्युलाई परिवारले ‘सामूहिक बलात्कारपछिको हत्या’ दाबी गर्दै प्रहरीमा उजुरी दिएको छ।
ट्युसन हिँडेकी छोरी जङ्गलमा रक्ताम्मे भेटिइन्
घटना २३ गते बिहानको हो। उषा बालबाटिका स्कुलमा पढ्ने इनिसा सधैँझैँ बिहान ६ बजे ‘ट्युसन जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। ८ बजेभित्र घर फर्कने छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन्, तर मोबाइल स्विच अफ थियो। केही समयपछि एउटा अपरिचित नम्बरबाट फोन आयो— “तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस छिन्, छिटो आउनुस्।” आमा हतार-हतार जनजागरण सामुदायिक वनमा पुग्दा दृश्य निकै भयावह थियो। इनिसाको शरीर रक्ताम्मे थियो, चुराहरू फुटेका थिए र शरीरभरि निलडाम थिए। घटनास्थलको अवस्था हेर्दा उनलाई तड्पाई-तड्पाई घिसारेर मारिएको स्पष्ट देखिन्थ्यो। उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याइयो, तर डाक्टरले मृत घोषणा गरिदिए।
चार जना नाबालक पक्राउ
घटनाको गम्भीरतालाई हेर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान तीव्र पारेको छ। जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाका अनुसार यो घटनामा संलग्न रहेको आशंकामा वीरेन्द्रनगरकै चार जना किशोरहरूलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक हुन्। प्रहरीले घटनाको दिन २३ गते नै एक जनालाई र २४ गते थप तीन जनालाई पक्राउ गरेको हो। मृतकका आफन्तले कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्।

पोस्टमार्टम रिपोर्टको पर्खाइ
इनिसाको परिवारले छोरीमाथि सामूहिक बलात्कार गरेरै हत्या गरिएको दाबी गरेको छ। “छोरीको कपाल लुछिएको छ, शरीरभरि चोट छ, उनलाई मारिएको नै हो,” आमाको रोदनले अस्पताल परिसर स्तब्ध बनेको थियो। प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविक कारण खुल्ने बताएको छ। अहिले पक्राउ परेका किशोरहरूमाथि थप अनुसन्धान भइरहेको छ र प्रहरीले यसलाई ‘हाइ-प्रायोरिटी’मा राखेर सूक्ष्म ढङ्गले हेरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्