२०८३ वैशाख ५ , शनिबार
कर्णाली सरकारसँग रिसाय होटल व्यवसायी

मुख्यमन्त्री कँडेलको अभिव्यक्तिप्रति आपत्ति



सुर्खेत । सुर्खेतका होटल व्यवसायीहरु कर्णाली प्रदेश सरकासँग रिसाएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खर्चलाई मितव्ययी बनाउन भन्दै सरकारी हलमा गर्न सकिने कार्यक्रमहरु होटलमा नगर्न भनेका थिए । यही विषयलाई सञ्चारमाध्यमले अब कुनैपनि होटलमा सरकारी कार्यक्रम नगर्ने मुख्यमन्त्रीले निर्देशन दिएको भनेर समाचार प्रकाशन÷प्रसारण गरेका थिए । विहीबार होटेल व्यवसायी संघ सुर्खेतकी अध्यक्ष टिका वलीले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको अभिव्यक्ति व्यवसायमैत्री नभई होटल तथा पर्यटन क्षेत्रमा थप संकट उत्पन्न गर्ने खालको रहेको बताइन् ।
कोभिड–१९ महामारीपछि लामो समय बन्द भएर ऋण र घाटाबाट गुज्रिरहेका होटल व्यवसायी अझै पुनःस्थापनाको प्रयासमा रहेकामा मुख्यमन्त्रीको भनाइले लगानीकर्ता निराश हुने उनको भनाइ छ ।
संघले मुख्यमन्त्रीलाई उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै प्रदेश सरकारलाई व्यवसायमैत्री नीति ल्याउन, होटल तथा पर्यटन व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्ने नीतिगत व्यवस्था मिलाउन सरकारलाई दबाब दिएको छ । यस्तै संघले नेपालगञ्जमार्फत मात्र सञ्चालन हुँदै आएको कैलाश–मानसरोवर हवाई यात्रा सुर्खेतबाट सुरु गर्न सरकारलाई माग गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार