सुर्खेत । कर्णाली प्रदेशको चुनावी नतिजाले यसपटक राजनीतिमा ठूलो फेरबदलको संकेत गरेको छ। १२ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस ५ सिटसहित पहिलो दल बनेको छ भने ४ सिट जितेर नेकपा दोस्रो स्थानमा उभिएको छ। संगठानिक रूपमा बलियो मानिने नेकपा एमाले भने यसपटक एउटा क्षेत्रमा मात्रै खुम्चिन पुग्यो। २०७४ को निर्वाचनमा ६ सिट जितेर दबदबा कायम गरेको एमालेलाई यसपटकको प्रतिस्पर्धाले ठूलो धक्का दिएको छ।
यस निर्वाचनको सबैभन्दा रोचक पक्ष भनेको दशकौँदेखि अपराजित रहेका ‘हेभीवेट’ नेताहरूको अप्रत्याशित हार हो। रुकुम पश्चिमबाट २०६४ देखि निरन्तर जित्दै आएका प्रभावशाली नेता जनार्दन शर्माको संसदीय यात्रामा यसपटक ‘ब्रेक’ लागेको छ। आफ्नै पूर्वस्वकीय सचिव गोपाल शर्मासँग पराजित भएसँगै शर्माको राजनीतिक भविष्य नै अन्योलमा परेको छ। त्यस्तै, जाजरकोटबाट लगातार जित्दै आएका पूर्वमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि कांग्रेसका खड्कबहादुर बुढाले पराजित गर्दै संसद्को बाटो बन्द गरिदिएका छन्।

दैलेखमा पनि मतदाताले पुरानो अनुहारलाई परिवर्तन गरिदिएका छन्। कांग्रेसका दिक्पालकुमार शाही एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग पराजित हुँदा, ‘फ्लोर क्रस’ का कारण चर्चामा रहेका अमरबहादुर थापालाई कांग्रेसकी बासना थापाले लज्जास्पद हारको स्वाद चखाइन्। जुम्लामा भने राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो लोकप्रियता कायमै राख्दै लगातार दोस्रो जित निकालेका छन्, जहाँ रास्वपाकी विनिता कठायतले जमानत समेत जोगाउन सकिनन्।
देशभर रास्वपाको लहर चले पनि कर्णालीका दुर्गम पहाडहरूमा भने त्यसको प्रभाव मिश्रित देखियो। सुर्खेत–२ बाट रमेशकुमार सापकोटाले सानदार जित निकाल्दै रास्वपाको खाता त खोले, तर हुम्ला, मुगु, डोल्पा र कालीकोटजस्ता ७ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको जमानत नै जफत भयो। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा ती क्षेत्रमा नयाँ शक्तिले आफ्नो उपस्थिति बलियो बनाउन संघर्ष गर्नुपर्ने देखियो।
समग्रमा, कर्णालीको यो नतिजाले पुराना राजनीतिक दलहरूलाई सच्चिन र नयाँलाई थप मेहनत गर्न कडा सन्देश दिएको छ। मतदाताले नाम र ओहोदाभन्दा पनि काम र परिवर्तनलाई प्राथमिकता दिएको यो नतिजाले प्रस्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्