२०८३ भदौ २९ , सोमबार
प्राेफाइल

पुराना दलकाे विरासत भत्काउने सापकाेटा: कर्णालीमा रास्वपाको बीजारोपण गर्ने एक्ला सारथी



सुर्खेत। हिजोसम्म गाडी र मजदुरको लाइन मिलाउने सुर्खेतका एक ‘भुमान्छे’ रमेश कुमार सापकोटाले आज सुर्खेतको राजनीतिक भूगोल नै बदलिदिएका छन्। फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका सापकोटाले केवल चुनाव मात्र जितेनन्, दशकौँदेखि एमाले र कांग्रेसले आफ्नो ‘अजेय किल्ला’ मान्दै आएको वीरेन्द्रनगरको विरासतलाई समेत धुलो चटाएका छन्। यो जितसँगै सापकोटा कर्णाली प्रदेशका १२ सिटमध्ये रास्वपालाई ‘निल’ हुनबाट जोगाउने र प्रदेशभरि घण्टीको बीजारोपण गर्ने एक्ला खम्बा बनेका छन्।

२०३८ साल मंसिर १५ गते साटाखानीको मध्यमवर्गीय परिवारमा जन्मिएका सापकोटाको यो यात्रा निकै प्रेरणादायी छ। बुवा दुर्गाप्रसाद र आमा मनिकलाका छोरा रमेशले औपचारिक शिक्षा एसएलसीसम्म मात्रै लिए पनि उनले जीवनको भोगाइ र सङ्घर्षबाट ‘अनुभवको डिग्री’ हासिल गरेका छन्। २०५६ सालमा एक सामान्य मजदुरका रूपमा यातायात क्षेत्रमा प्रवेश गरेका उनले आफ्नो अदम्य साहस र कार्यकुशलताकै कारण नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र कर्णाली प्रदेश अध्यक्ष जस्तो शक्तिशाली पदसम्म पुगेर आफूलाई प्रमाणित गरिसकेका थिए। काँक्रेविहार यातायात व्यवसायी संघको नेतृत्व गर्दै सुर्खेत उपत्यका नगर विकास समितिको सदस्य भएर वीरेन्द्रनगरको विकासमा इँटा थपेका उनै सापकोटा अब राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेका छन्।

लामो समय नेपाली कांग्रेसको वैचारिक छहारीमा रहेर वीरेन्द्रनगर नगर कमिटीको सचिवसम्म बनेका सापकोटाले देशमा वैकल्पिक राजनीतिको लहर देखेपछि रास्वपाको बाटो रोजेका थिए। चुनावका बेला घरदैलोमा पुग्दा उनले मतदातालाई एउटै प्रश्न गर्थे- “तपाईँहरूले दशकौँदेखि विकास गर्ने नेता नै चिन्नु भएन, अब मलाई एक पटक अवसर दिनुस्।” सुशासन, समृद्धि र ‘जेन–जी’ पुस्ताको विद्रोहलाई आफ्नो एजेन्डा बनाएका सापकोटाको कुरालाई सुर्खेत–२ का मतदाताले यसपालि पत्याइदिएका छन्।

देशभर रास्वपाको उभार आउँदा पनि कर्णालीका अन्य ११ क्षेत्रमा रास्वपाले हार बेहोर्नु परेको बेला रमेश सापकोटाले एक्लैले मोर्चा सम्हालेर जित निकाल्नु चानचुने कुरा होइन। उनले कांग्रेस–एमालेको गढ भत्काएर नयाँ राजनीतिक संस्कारको ढोका खोलेका छन्। यातायात मजदुरदेखि माननीयसम्मको यो यात्राले सुर्खेतको विकास र आम नागरिकको भरोसालाई कत्तिको न्याय गर्छ, त्यो त अब उनको आगामी कार्यकालले नै बताउनेछ। तर, यतिबेला सुर्खेत र समग्र कर्णालीमा रमेश सापकोटा ‘जायन्ट्स किलर’ का रूपमा उदाएका छन्।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार