२०८३ साउन १३ , बुधबार
प्राेफाइल

कांग्रेसको गौरव बचाउने जयपती : विद्यार्थी राजनीतिदेखि संसदसम्मको यात्रा



हुम्लाको राजनीतिमा एउटा इमानदार र निष्ठावान् नाम हो-जयपति रोकाया। जातीय र क्षेत्रीय संकीर्णताभन्दा माथि उठेर राजनीति गर्न रुचाउने रोकाया हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनको चर्चा चुलिएको छ। विद्यार्थी राजनीतिदेखि पार्टीको जिल्ला सभापतिसम्मको लामो अनुभव बटुलेका रोकायाको यो सफलता उनको तीन दशक लामो धैर्यता र समर्पणको प्रतिफल हो।

कम्युनिष्ट प्रभावदेखि काँग्रेसको खम्बासम्म

रोकायाको राजनीतिक यात्राको सुरुवात रोचक छ। २०४८ सालअघि उनी कम्युनिष्ट विचारधारासँग नजिक थिए। तर, तत्कालीन नेविसंघ नेता कैलाश रोकायाको विशेष पहलमा उनी नेपाल विद्यार्थी संघमा आवद्ध भए। त्यहीँबाट सुरु भएको उनको काँग्रेसी यात्रा आज संसदको रोष्ट्रमसम्म पुगेको छ। उच्च शिक्षाका लागि २०५२ सालमा काठमाडौं आएका बेला उनी ‘नेविसंघ हुम्ला–काठमाडौं सम्पर्क समिति’को नेतृत्व गर्न चाहन्थे। यद्यपि, आन्तरिक प्रतिस्पर्धाका कारण त्यतिबेला उनी पछि हटे, तर उनको राजनीतिक सक्रियता भने कहिल्यै रोकिएन। हुम्लामा नेपाली काँग्रेसलाई बलियो बनाउन नेता जीवनबहादुर शाहीको ठूलो योगदान छ। रोकायाले उनै शाहीको विश्वास पात्र बनेर जिल्लाको राजनीतिमा आफ्नो जग बसाले।

२०५४ सालदेखि नेविसंघ हुम्लाको जिल्ला अध्यक्ष (लगातार तीन कार्यकाल नेतृत्व) र २०६१ सालदेखि तीन कार्यकालमा नेपाल तरुण दल हुम्लाको अध्यक्ष भएका थिए । नेपाली काँग्रेसको १२ औँ महाधिवेशनबाट जिल्ला सभापति बनेका उनी १३ औँ अधिवेशनमा पुनः निर्विरोध सभापति चुनिए।

यति हुँदाहुँदै पनि रोकायाको व्यक्तित्वको एउटा सबल पक्ष भनेको पदप्रतिको आशक्ति नहुनु हो। २०७९ को स्थानीय तह निर्वाचनमा उनलाई सिमकोट गाउँपालिकाको अध्यक्षको टिकट निश्चित जस्तै थियो। सत्ता गठबन्धनका कारण उनको जित पनि पक्का थियो, तर उनले त्यो पद अस्वीकार गरिदिए। यसअघि २०७४ र २०७९ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भए पनि उनी संसद पुग्न सकेका थिएनन्।

१२ वर्षपछिको सानदार पुनरागमन

यसपटक हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएसँगै रोकायाले काँग्रेसको साख मात्र जोगाएनन्, जिल्लामा १२ वर्षपछिको खडेरी पनि तोडेका छन्।

२०७० सालको संविधानसभा निर्वाचनपछि काँग्रेसले यहाँ प्रत्यक्षतर्फ जित्न सकेको थिएन। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डा. दिपेन्द्र रोकायालाई १,५५४ मतान्तरले पराजित गरे। जयपतिले ८,७९७ मत प्राप्त गर्दा डा. रोकायाले ७,२४३ मतमा चित्त बुझाउनु पर्यो। पहिलोपटक संसद प्रवेश गरेका रोकायाले अबको आफ्नो मुख्य ध्यान ‘नीति निर्माण’मा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्। दुर्गम हुम्लाको आवाजलाई केन्द्रसम्म पुर्याउन र राष्ट्रिय नीतिमा दुर्गमका मुद्दा समेट्न उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार