२०८३ वैशाख ५ , शनिबार
प्राेफाइल

गुरूलाइ हराउने गाेपाल: विद्यार्थी राजनीतिदेखि संघीय संसदसम्मकाे यात्रा



​सुर्खेत । रूकुमकाे विकासकाे लागि जनार्दन शर्माकाे निकै ठूलाे याेगदान छ । यसकारण उनले नै चुनाव जित्छन् । नेकपाका अन्य नेताहरू त उनै जनार्दनका चेलाहरू हुन् । गुरूकाे अगाडि चेलाहरूकाे के लाग्छ ? निर्वाचनकाे क्रममा प्रायः सबैले यस्तै भन्थे । तर फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा ठिक उल्ठाे भयाे ।

जनार्दनले हारे गाेपालले जिते । गाेपालले २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुँदा जनार्दन प्रतिस्पर्धामै रहेनन् ।  बरू कसैले कमै चर्चा भएका नेपाली कांग्रेसका उम्मेद्वार निकटताम प्रतिस्पर्धी बने । कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याएर गाेपाललाइ टक्कर दिए । भलै गाेपालले राजुलाइ ४ हजार ९ सय ४८ मतान्तरले पछि पार्दै विजयी भए ।

२०६४ सालदेखि निरन्तर संसदीय निर्वाचन जित्दै अाएका जनार्दन तेस्रो हुनुभयो । जनार्दनले जम्मा १४ हजार ३ सय ४६ मत ल्याए । उनी पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा थिए । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरू विजयी हुँदा रूकुमका रास्वपाका उम्मेद्वार मानबहादुर शाहीले जम्मा ४ हजार ७६ मत ल्याए ।

काे हुन् गुरूलाइ हराउने गाेपाल ?

२०४३ साल पुस १२ गते साबिकको विजयश्वरी गाउँ विकास समितिको लहरेसिमल गाउँमा आमा कस्तुरा ढकाल र बुवा परमानन्द ढकालका कान्छा पुत्रका रूपमा गाेपालकाे जन्म भएकाे हाे । उनकाे  राजनीतिक जीवन कथा नै  एउटा लामो दस्तावेज जस्तो छ। कलिलै उमेरमा राजनीतिप्रति आकर्षित भएका शर्माले २०४६ सालको जनआन्दोलनकै आसपासबाट आफ्नो यात्रा सुरु गरे । स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका शर्माले २०४६ सालमा अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध भए । जतिबेला उनी जम्मा १२ वर्षकाे मात्र थिए । चौरजहारीस्थित शीतल माध्यमिक विद्यालयको सह-इकाई कमिटीबाट पाइला चालेका उनी छोटो समयमै विद्यार्थी राजनीतिमा चम्किए । २०५१ सालमा रुकुम जिल्ला कमिटी सदस्य हुँदै २०५३ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे।

​विद्यार्थी संगठनमा उनको पकड यति बलियो भयो कि उनी चाँडै नै केन्द्रीय तहमा पुगे । २०५४ सालमा केन्द्रीय सदस्य र राप्ती अञ्चल इन्चार्ज बनेका शर्मा २०५६ सम्म आइपुग्दा अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा आसिन भए । यसबीच, २०५३ सालमै उनले नेकपा (माओवादी) को सदस्यता लिएर मूलधारको पार्टी राजनीतिमा प्रवेश गरिसकेका थिए।

​जनयुद्धको रापतापमा शर्माले संगठन निर्माणका लागि निकै ठूलो कसरत गरे । २०५६ देखि २०६० सम्म उनले रुकुमको जिल्ला कमिटी सदस्यदेखि भेरी-कर्णाली र गण्डक क्षेत्रको विशेष जिम्मेवारी समेत कुशलतापूर्वक निभाए। २०६० देखि २०६२ सम्म बाँके र बर्दियाको जिल्ला इन्चार्ज बनेका उनी शान्ति प्रक्रियाको सुरुवाती चरणमा २०६४ सम्म रुकुमको पार्टी सेक्रेटरीका रूपमा सक्रिय रहे। उनको सांगठनिक क्षमताकै कारण २०६५ मा उनी एकीकृत नेकपा (माओवादी) को रुकुम इन्चार्ज बने भने पछि मगरात राज्य कार्यालयको सचिव भएर पनि काम गरे।

​राजनीतिक उतारचढावका बीच २०७१ मा पुन: रुकुम जिल्ला अध्यक्ष बनेका शर्मा सोही वर्ष पार्टीको केन्द्रीय सदस्यमा चुनिए । २०७५ मा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उनले रुकुम पश्चिमको नेतृत्व गर्ने अवसर पाए । पार्टी विभाजनपछि पुनर्गठित माओवादी केन्द्रमा उनी २०७९ देखि हालसम्म पनि केन्द्रीय सदस्यकै रूपमा क्रियाशील छन् ।

​शर्माको एउटा मुख्य परिचय ‘चुनावी कमान्डर’ पनि हो । २०६४ र २०७० का दुवै संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा उनले जिल्ला निर्वाचन परिचालन समितिको संयोजक बनेर जनार्दनलाई विजयी गराउन अहोरात्र खटे। संगठन निर्माण र निर्वाचन व्यवस्थापनमा उनको दख्खललाई जिल्लामा विशेष रूपमा हेरिन्छ ।

​पार्टी र संगठनको काममा मात्र सीमित नभई उनले जनताकाे प्रतिनिधिकाे जिम्मेवारी पनि सफलतापूर्वक सम्हालेका छन् । २०७४ मा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका शर्मा २०७८ मा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । तीन दशकभन्दा लामो राजनीतिक अनुभव र सरकारी जिम्मेवारीको कुशलता बोकेका शर्मा यसपटक आफैं संघीय संसद्मा पुग्ने अवसर प्राप्त गरेका छन् ।

​यसपटकको चुनाव उनका लागि निकै रोचक र चुनौतीपूर्ण थियाे । हिजोसम्म जसलाई जिताउन उनी जिल्लाभर चुनावी कमान्ड सम्हाल्थे, आज उनै जनार्दन शर्मासँग उनी आमनेसामने बन्न पुगे । निर्वाचन जितेपछि गाेपालले निष्ठा र लामो अनुभवको पुँजीका कारण निर्वाचन अाफ्नाे पक्षमा पार्न सफल भएकाे चर्चा हुन थालेकाे छ ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार