सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं. २ को समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। सार्वजनिक अन्तिम मत परिणाम अनुसार यस क्षेत्रमा नयाँ शक्ति र पुरानो विरासत बोकेका दलहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले सबैभन्दा धेरै मत प्राप्त गर्दै आफ्नो बलियो उपस्थिति जनाएको छ। रास्वपाले समानुपातिकमा पनि ३३ हजार ६९९ मत ल्याउँदै दबदबा कायमै राखेकाे छ ।
नेपाली कांग्रेस दाेस्राे दल बनेकाे छ । कांग्रेसले क्षेत्र नं. २ मा समानुपातिकमा पनि १४ हजार ३२० मत मात्रै ल्याएकाे छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले समानुपातिकमा पनि तेस्राे दल स्थानमा झरेकाे छ । एमालेले सुर्खेत क्षेत्र नं. २ मा १२ हजार ०६२ मत मात्रै ल्याएकाे छ ।
नेकपाले ४ हजार २८९ मत ल्याउँदै तेस्राे बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी २ हजार १२५ मत ल्याएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।
सुर्खेत क्षेत्र नं. २ मा १ लाख २८ हजार ४६७ मतदाता छन् । जसमध्ये कुल ७३ लाख ११३ जना मतदाताले मात्रै मतदानमा भाग लिएका थिए । जसमध्ये ७० हजार ४४२ मत मात्रै सदर भएकाे थियाे । बाँकी २ हजार ६७१ मत बदर भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
ठूला दलहरू बाहेक अन्य साना दलहरूले पनि आफ्नो उपस्थिति देखाएका छन् । जसमा नेपाल मजदुर किसान पार्टीले २१० मत र जनमत पार्टीले ८५ मत प्राप्त गरेका छन्। केही दलहरूले दोहोरो अंकमा मात्र मत समेट्न सफल भएका छन्।
समग्रमा, सुर्खेत क्षेत्र नं. २ का मतदाताहरूले यस पटक परम्परागत राजनीतिक शक्तिभन्दा नयाँ सोच र एजेन्डा बोकेका दलहरूलाई बढी रुचाएको यो मत परिणामले प्रष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्