सुर्खेत । यही बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। कर्णालीका विकट हिमाली क्षेत्रदेखि सुगमका जिल्लासम्म निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार प्रदेशका १० जिल्लाका कुल ९४१ मतदान स्थल र एक हजार १३७ मतदान केन्द्रहरूमा कर्मचारीहरू खटिएका छन्। डोल्पा, हुम्ला र मुगु जस्ता भौगोलिक रूपमा कठिन जिल्लाहरूमा पैदल यात्रा र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर निर्वाचन सामग्री र जनशक्ति पुर्याइएको छ।

हिमाली जिल्लाको तयारी
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार माथिल्लो डोल्पाका २० मतदान केन्द्रमा हेलिकप्टरमार्फत र अन्य ३ केन्द्रमा तीन दिनको पैदल यात्रापछि कर्मचारीहरू पुगेका छन्। डोल्पामा कैदीबन्दी र कर्मचारीका लागि २ अस्थायीसहित ७० मतदान केन्द्र तोकिएका छन्। यस्तै, मुगुका ७० वटै मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगिसकेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिनुभयो। हुम्लामा पनि हेलिकप्टर र पैदल मार्गबाट ६५ वटै मतदान केन्द्रमा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो।
मतदाताको विवरण:
कर्णाली प्रदेशमा यस पटक कुल १० लाख ३७ हजार मतदाता रहेका छन्, जसमा ५ लाख २७ हजार ८८६ पुरुष र ५ लाख ९ हजार ३६१ महिला छन्। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी मतदाता सुर्खेतमा (२ लाख ४८ हजार ९४३) रहेका छन् भने सबैभन्दा कम डोल्पामा (२४ हजार ११५) रहेका छन्।

निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा कमाण्ड सम्हालिसकेका छन्। अब कर्णालीबासी बिहीबार बिहानैदेखि आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिएका छन्।
प्रतिक्रिया दिनुहोस्