सुर्खेत । आगामी २०८२ फाल्गुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र धाँधलीरहित बनाउने उद्देश्यका साथ राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले विशेष तयारी सुरु गरेको छ। यसै सिलसिलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका झन्डै १५० जना पर्यवेक्षकहरूका लागि एक बृहत् अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अनियमिततालाई रोक्न र आम मतदाताले भयमुक्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाऊन् भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो। सहभागी पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना, अनुगमनका विधि र निष्पक्ष भूमिकाका बारेमा विस्तृत प्रशिक्षण दिइएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई मर्यादित बनाउन पर्यवेक्षकहरूको भूमिका महत्त्वपूर्ण रहनेमा जोड दिएका छन्। “२०८२ फाल्गुन २१ गते हुने निर्वाचनमा आचारसंहिताको अक्षरसः पालना गरौँ र गराऔँ,” भन्दै आयोजकले सबै सरोकारवालाहरूलाई स्वच्छ र धाँधलीरहित निर्वाचनका लागि सहयोग गर्न अपिल समेत गरेको छ।
कर्णालीका विकट जिल्लादेखि सुगमसम्मका प्रतिनिधिहरूको सहभागिता रहेको यस कार्यक्रमले निर्वाचनको विश्वसनीयता बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ। भयमुक्त र पारदर्शी निर्वाचन नै आजको आवश्यकता भएको सन्देश दिँदै कार्यक्रम समापन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्