२०८३ वैशाख ५ , शनिबार
चुनावको 'हल्लाखल्ला' बन्द

४८ घण्टा मौन बस्नुपर्ने, गडबड गरे उम्मेदवारी नै रद्द



सुर्खेत। आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले गर्दै आएको प्रचारप्रसारको समय आज सोमबार मध्यरात १२ बजेदेखि सकिँदैछ। निर्वाचन आयोगले तोकेको ‘मौन अवधि’ सुरु भएसँगै अबको ४८ घण्टा न त भाषण सुन्न पाइनेछ, न त भोट माग्नै पाइनेछ।

मौन अवधि भनेको मतदातालाई ‘ठण्डा दिमाग’ ले सोचेर सही उम्मेदवार रोज्ने समय हो। यो अवधिमा फेसबुक, भाइबर, टिकटक वा एसएमएसबाट समेत भोट माग्न पाइने छैन।  मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका झण्डा र चुनाव चिह्नहरू हटाउनुपर्नेछ।

 यदि कसैले गुपचुप पैसा बाँडेको वा मतदाता प्रभावित पारेको भेटिएमा उम्मेदवारी खारेज मात्र होइन, ६ वर्षसम्म चुनाव लड्न नपाउने गरी कारबाही हुने चेतावनी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिनुभएको छ।

देशभरको यसपटकको चुनाव निकै रोचक र ठूलो छ। आयोगका अनुसार देशभर कुल  १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता छन् । जसमा महिला ९२ लाखभन्दा बढी छन् । प्रत्यक्षतर्फ १६५ सिटका लागि ३,४०६ जना र समानुपातिकतर्फ ३,१३५ जना मैदानमा छन् ।मतदान देशभर १०,९६७ मतदान स्थलमा २३,११२ वटा मतदान केन्द्र तोकिएको छ।

निर्वाचनलाई भयरहित बनाउन राज्यले ठूलो शक्ति परिचालन गरेको छ । जसमा  ७९,७२७ जना नेपाली सेना,  ७५,७९७ जना नेपाल प्रहरी,  ३४,५६७ जना सशस्त्र प्रहरी र  १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएकाे छ । मतदानका लागि २ लाख १५ हजार कर्मचारीहरू मतदान केन्द्रमा खटिसकेका छन् ।

चुनावको निष्पक्षता जाँच गर्न ४ वटा अन्तर्राष्ट्रिय र ३९ वटा राष्ट्रिय संस्थाका प्रतिनिधिहरू फिल्डमा खटिएका छन्। आयोगले प्रत्यक्ष र समानुपातिकका लागि कुल ४ करोड २२ लाखभन्दा बढी मतपत्र छापेर गाउँ-गाउँ पुर्‍याइसकेको छ।

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार