२०८३ वैशाख ५ , शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२

सुर्खेतबाट ५१ प्रकारका चुनावी ‘पोको’ बोकेर कार्यक्षेत्र पुगे कर्मचारी



सुर्खेत। फागुन २१ गतेको ‘महाभिडन्त’ का लागि सुर्खेतका कर्मचारीहरू चुनावी सामग्रीको लामो सूची बोकेर गाउँ-गाउँतिर लागेका छन्। सोमबार बिहानैदेखि प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिकादेखि सियो-धागोसम्मका सामग्री बुझेर मतदान अधिकृतको टोली आफ्नो कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो।

निर्वाचन गराउन खटिएका टोलीले रबरको छापदेखि लाहा-सम्मका ५१ प्रकारका सामग्री साथमा लिएका छन्। प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर र सिल गर्ने डोरी जस्ता अत्यावश्यक सामानहरू आइतबार नै रुजु गरेर सोमबार बुझाइएको हो। सोमबार साँझसम्म सबै कर्मचारी तोकिएको केन्द्रमा पुगिसक्नेछन्।

कर्णालीका हिमाली जिल्लाका अति दुर्गम ठाउँमा भने पैदल जान सम्भव नभएपछि हेलिकप्टरको सहारा लिइएको छ। हुम्लाका ८, डोल्पाका २० र मुगुका ३ मतदान केन्द्रमा कर्मचारी र सामग्रीहरू हेलिकप्टरबाटै पुर्‍याइँदै छ। मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले सर्वदलीय बैठक बोलाउने र मतदानको तयारी गर्नेछन्।

कर्णाली प्रदेशभरिको सुरक्षा अवस्था अलि चुनौतीपूर्ण देखिएको छ। यहाँका कुल ९४१ मतदान स्थलमध्ये ७७९ वटा स्थल त संवेदनशील सूचीमा छन् । जसमध्ये ३५९ स्थल अति संवेदनशील,  ४२० स्थल संवेदनशील र  जम्मा १६२ स्थल मात्रै सामान्य छन् । कर्णाली प्रदेशभर  त्यस्तै, १ हजार ४३७ मतदान केन्द्रमध्ये १,१०० वटा केन्द्र सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका छन्।

कूल १० लाख ३७ हजार २५० जना मतदाता रहेकाे कर्णालीमा  १२ वटा सिटका लागि  १३७ जना चुनावी मैदानमा रहेकाे प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएकाे छ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार