सुर्खेत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेको यो पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेल्दै मनाउने गरिन्छ। पछिल्ला वर्षहरूमा प्रहरीको सक्रियताका कारण उपत्यकामा होली सभ्य र व्यवस्थित बन्दै गएको छ। सडकमा हिँड्ने मानिसलाई इच्छा विपरीत रङ लगाउने प्रवृत्ति पनि क्रमशः घट्दै गएको छ।
काठमाडौँको वसन्तपुर क्षेत्रमा भने होली विशेष उत्साहका साथ मनाइन्छ। त्यहाँ गाडिएको ‘चीर’ लाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने परम्परा छ। चीरमा राखिएका ध्वजापताका औषधीय गुण हुने विश्वास गरिन्छ। चीरको खरानीलाई अनिष्ट टार्ने प्रतीक मानी टीका लगाउने चलन पनि छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि रङ्गीचङ्गी ध्वजासहित चीर गाडेपछि होली आरम्भ भएको मानिन्छ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालबाट ल्याइएको दश पाथी चामलको भात र राँगाको मासु चढाउने तथा सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारामा चुठाउने परम्परा पनि कायम छ।
होलीसँग धार्मिक कथा पनि जोडिएको छ। त्रेता युगमा दैत्यराज हिरण्यकश्यप ले विष्णुभक्त पुत्र प्रह्लाद लाई मार्न आगोले नछुने वरदान पाएकी बहिनी होलिका सँग दन्किरहेको आगोमा बस्न लगाए। तर होलिका आफैँ भष्म भइन् भने प्रह्लाद सुरक्षित रहे। शक्तिको दुरुपयोगको प्रतीक होलिकाको अन्त्यको सम्झनामा होली मनाउने परम्परा चलेको मानिन्छ।
त्यस्तै द्वापर युगमा कंसले पठाएकी राक्षसनी पुतना ले विष दलिएको स्तन चुसाएर श्रीकृष्णलाई मार्न खोज्दा असफल भई मारिएको कथासमेत फागुसँग जोडिन्छ। व्रजवासीहरूले पुतनालाई जलाएर उत्सव मनाएको उल्लेख धर्मग्रन्थमा पाइन्छ।
आयुर्वेदका दृष्टिले पनि होलीको महत्त्व रहेको विश्वास गरिन्छ। प्राकृतिक रङ र अबिरले छालासम्बन्धी रोग निवारण गर्ने तथा चीर बाल्दा निस्कने धुवाँले जाडोयामका कीटाणु नष्ट गर्ने जनविश्वास छ।
सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिने परम्परा कायम राखेको छ। तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ। आज विशेषगरी भाङ मिसाइएका परिकार खाई, रङमा रङ्गिएर बाजागाजासहित नाचगान गर्दै समूहमा रमाइलो गर्ने गरिन्छ।
नेपाल र भारतमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि रंग–उत्सव फरक–फरक शैलीमा मनाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ नामले सुगन्धित जल छर्केर, चीनमा ‘च्वेज’ नामले नयाँ लुगा र गहना लगाएर, अमेरिकामा ‘होबो’ नामले हास्यपूर्ण वेषभूषा धारण गरी प्रतियोगिता गरेर मनाउने गरिन्छ। श्रीलङ्का, इन्डोनेशिया, म्यान्मा, थाइल्यान्ड, जापान, चीन र इजिप्टलगायत देशमा पनि आ–आफ्नै सांस्कृतिक परम्पराअनुसार आगो, पानी, नाचगान र पूजाआजा गर्दै यस किसिमका पर्व मनाउने परम्परा रहेको पाइन्छ।
यसरी फागु पर्व केवल रङको खेल मात्र नभई सद्भाव, संस्कार, धार्मिक आस्था र सांस्कृतिक विविधताको प्रतीकका रूपमा स्थापित छ।
प्रतिक्रिया दिनुहोस्