२०८३ वैशाख ६ , आइतबार
घण्टाघर डबलीमा एमालेको शक्ति प्रदर्शन

थपियो उम्मेद्वारमा उत्साह, कार्यकर्तामा हौसल्ला (फाेटाे फिचर)



सुर्खेत । नेकपा एमाले सुर्खेतले आइतबार सुर्खेतको घण्टाघर डबलीमा शक्ति प्रदर्शन गरेको छ । निर्वाचन आउन ४ दिन मात्र बाँकी रहदा एमालेले शक्ति प्रदर्शन गरेको छ । घण्टाघरमा हजारौँ कार्यकर्ताहरु उतारेर एमालेले उम्मेद्वारहरुमा उत्साह थपेको छ ।


सभामा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा एमालेले सुर्खेतका दुबै निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले सम्बोधन गरेका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले सुर्खेत क्षेत्र नं. १ मा ध्रुवकुमार शाही र सुर्खेत क्षेत्र नं. २ मा कुलमणि देवकोटालाई उम्मेद्वार बनाएको छ ।


चुनावी सभालाई सम्बोधन गर्दै दुबै जना उम्मेद्वारहरुले निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छन् । कार्यकर्ताको बाक्लो उपस्थितिले उत्साहित एमाले उम्मेद्वारहरुले निर्वाचन आफूहरुले जित्ने दाबी गर्दै गाउँ–गाउँमा पुगेर सुझबुझपूर्ण रुपले मतदानमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।


एउटै मञ्चमा हजारौँ कार्यकर्ता उतारेर एमालेले निर्वाचनका सक्रिय सहभागी बन्न ती कार्यकर्ताहरु पनि हौसल्ला थपिएको छ । यद्यपी एमालेले सुर्खेतका दुबै निर्वाचन क्षेत्रका गाउँ–गाउँबाट कार्यकर्ताहरु घण्टाघर डबलीमा उतारेको हो । गाडी नै बुक गरेर एमालेले गाउँ–गाउँबाट कार्यकर्ताहरु वीरेन्द्रनगरमा ल्याएको हो ।

 सुर्खेत क्षेत्र नं. १ मा यस क्षेत्रको रोचक पक्ष के छ भने, लामो समयसम्म कांग्रेस नेता पूर्णबहादुर खड्काको वर्चस्व रहेको यहाँ यसपटक नयाँ राजनीतिक समीकरण र पात्रहरू देखिएका छन्। शाही तिनै नेता हुन्, जसले २०७४ मा कांग्रेसका हेभीवेट नेता पूर्णबहादुर खड्काको अपराजित यात्रालाई पूर्णविराम लगाएका थिए।

यद्यपि, २०७० मा भने खड्काले शाहीलाई पराजित गरेका थिए। यसपटक पूर्णबहादुर मैदानमा नभएपछि शाहीको प्रतिस्पर्धा खड्काका भाइ विष्णुबहादुर खड्कासँग हुनेछ। शाही सुस्त विकासलाई गति दिने दाबी गरिरहेका छन् भने कांग्रेस उम्मेदवार खड्का पुरानै योजनाको निरन्तरता र नयाँ सम्भावनाको खोजीमा मत मागिरहेका छन्।

तेस्रो शक्तिको खोजीमा नेकपा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्व लडाकु जीतबहादुर राना पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। विगतका दुई चुनावमा पालैपालो कांग्रेस र एमालेलाई जिताउन खटिएका राना यसपटक आफैँ मैदानमा उत्रिएर नागरिकको जीवनस्तर सुधार्ने नारा अघि सारेका छन्।

सुर्खेत क्षेत्र नं. २ मा पनि त्यति सहज छैन । यद्यपी अनुभवी नेता भएका कारण सहज जीत निकाल्ने एमालेको दाबी छ । एमाले उम्मेद्वार देवकोटा सुर्खेत उपत्यकामा खानेपानी वितरणका गरेको योगदानकै कारण चुनावी जित्ने एमालेको दाबी छ ।

 २०७९ को चुनावमा ५ हजार ६७ मतान्तरले कांग्रेसले बाजी मारेको सुर्खेत क्षेत्र नम्बर २ मा यसपालि भने ‘कडा टक्कर’ देखिने निश्चित छ। उम्मेदवार फेरिएका छन्, दलका रणनीति बदलिएका छन् र मतदाताको मुड पनि हिजोको जस्तो छैन।

अघिल्लो निर्वाचनमा कांग्रेसका हृदयराम थानी ३४ हजार ६२५ भोटका साथ विजयी हुँदा एमालेका अमृतबहादुर बुढा क्षेत्री २९ हजार ५५८ मतमा रोकिएका थिए। रोचक कुरा त के छ भने, प्रत्यक्षतर्फ हारे पनि एमालेले समानुपातिकमा सबैभन्दा धेरै २५ हजार ८६ भोट ल्याएर आफ्नो बलियो उपस्थिति देखाएको थियो। त्यसबेला कांग्रेसले २३ हजार १०, तत्कालीन माओवादीले १० हजार ५९ र नयाँ शक्तिका रूपमा आएको रास्वपाले ६ हजार १४६ भोट पाएका थिए। समानुपातिकमा एमालेले ल्याएकाे मतकाे अाधार नै एमालेले निर्वाचन जित्ने दाबी गरेको हो । सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट नारायण कुमार कोइराला,  नेकपाबाट झकबहादुर मल्ल ‘सुदीप’ र रास्वपाबाट रमेश कुमार सापकोटा चुनावी मैदानमा छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४१ मतदाता छन्।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार