२०८३ वैशाख ६ , आइतबार
यामलाल कँडेलको गर्जन

“एमाले भेल होइन, सागर हो; गाली गरेर मात्रै देश बन्दैन”



सुर्खेत। नेकपा (एमाले) का सचिव यामलाल कँडेलले २१ फागुनको निर्वाचनमा एमालेले बहुमतको सरकार बनाउने उद्घोष गरेका छन्। आइतबार सुर्खेतमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै कँडेलले एमाले देशकै सबैभन्दा लोकप्रिय र भरपर्दो पार्टी भएको दाबी गरे।

पछिल्लो समय विकसित ‘जेन–जी’ आन्दोलन र नयाँ भनिएका शक्तिहरूप्रति टिप्पणी गर्दै कँडेलले उनीहरूलाई ‘हत्कण्डा अपनाउने’ समूहको संज्ञा दिए। “एमाले अहिले नै चुनाव गर्ने पक्षमा थिएन,” उनले भने, “नयाँका नाममा अनेक नाटक गरेर मुलुकलाई यो परिस्थितिमा पुर्‍याइयो। भदौको आन्दोलनमा ध्वंस मच्चाउनेहरूलाई समयले नै दण्ड दिनेछ।” उनले थपे— “राजनीति भेल होइन, यो बदल्न त स्पष्ट नीति, विचार र विश्वसनीयता चाहिन्छ। अरूलाई सरापेर मात्रै विकास हुँदैन।”

कँडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति लक्षित गर्दै कडा टिप्पणी गरे। उनले भने, “आफ्नो जिम्मेवारी पूरा नगरी प्रधानमन्त्रीको सपना देख्नेहरूलाई यसपटक जनताले राम्रोसँग सबक सिकाउनेछन्।” नयाँ शक्तिहरूले जात, धर्म र पुस्ताको ‘कार्ड’ खेलेर नेपाली समाजलाई विखण्डन गर्न खोजेको उनको आरोप थियो।

एमाले सरकारमा रहँदा भएका कामहरूको बचाउ गर्दै कँडेलले एमालेकै अडानका कारण अब नेपालले कहिल्यै नाकाबन्दी भोग्नु नपर्ने दाबी गरे। उनले भने, “एमाले एक्लै चुनाव लड्न सक्षम छ, तर संविधान र गणतन्त्रविरोधी शक्तिहरू सलबलाइरहेको बेला लोकतन्त्रवादीहरू एकजुट हुन आवश्यक छ।” उनले मतदातालाई सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्दै भने— “अहिले प्रतिस्पर्धा आफ्नै ठाउँमा होला, तर व्यवस्थामाथि औँला ठड्याउनेहरूका विरुद्ध एक हुन सकिएन भने भोलि पछुताउनुपर्नेछ।”

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार