सुर्खेत । कर्णालीका उच्च हिमाली भेगमा यतिबेला चुनावी सरगर्मी मात्र बढेको छैन, प्रकृतिसँगको सङ्घर्ष पनि उत्तिकै छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला र डोल्पाका अति दुर्गम २७ मतदान स्थलमा कर्मचारी र निर्वाचन सामग्री पुर्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्न सुरु गरिएको छ। पछिल्लो समय परेको भारी हिमपातका कारण सडक सञ्जाल ठप्प भएपछि पैदल मार्गबाट जान असम्भव भएपछि शनिबारदेखि नै हवाई मार्गको सहारा लिइएको हो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार नाम्खा गाउँपालिकाका चारवटा मतदान स्थलहरू (तिल, चाला, जाङ्ग र हल्जी) मा अहिले पनि बाक्लो हिउँ जमेको छ। हिँडेर जान सक्ने अवस्था नभएपछि ती स्थानका हिमशिखर, हिमाल, भृकुटी र सुनखानी आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रहरूमा हेलिकप्टरमार्फत धमाधम कर्मचारी र मतपत्र लगायतका सामग्री पुर्याइँदै छ। डोल्पाका २३ वटा मतदान स्थलमा पनि निर्वाचन टोली खटिन सुरु गरिसकेका छन्। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ जस्ता उच्च हिमाली गाउँपालिकाहरूमा हिउँ अझै पग्लिएको छैन।

विशेष गरी शे-फोक्सुण्डो गाउँपालिकाका ११ मतदान स्थल (भिजेर, सालदाङ, रिग्मो) डोल्पोबुद्ध गाउँपालिकाका ६ मतदान स्थल (धो, ताक्सी, सिमेन), छार्काताङसोङ गाउँपालिकाका ६ मतदान स्थल (छार्का, मुकोट, कागकोट)मा हेलिकाेप्टरबाट निर्वाचन सामग्रीहरू पठाइइएकाे हाे । यी स्थानहरूमा कर्मचारी पुर्याउन र निर्वाचनपछि मतपेटिका सुरक्षित फिर्ता ल्याउन हेलिकप्टर नै एक मात्र विकल्प बनेको छ। यातायातको पहुँच नभएका र भौगोलिक रूपमा विकट यी क्षेत्रहरूमा राज्यले विशेष प्राथमिकता दिएर निर्वाचनको तयारीलाई तीव्रता दिएको छ।
प्रतिक्रिया दिनुहोस्