२०८३ वैशाख ५ , शनिबार
निर्वाचनको तयारी पूरा

सुर्खेत र कालीकोटकाे सुरक्षामा कडाइ, मदिरा निषेध



सुर्खेत । प्रदेश राजधानी सुर्खेतमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण प्रशासनिक र सुरक्षा तयारी पूरा भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्वाचन सेलले दिएको जानकारी अनुसार, निर्वाचनका लागि आवश्यक कर्मचारी प्रशिक्षण, सुरक्षाकर्मी परिचालन र मतदान केन्द्रहरूको स्थलगत अनुगमन जस्ता महत्वपूर्ण कामहरू सम्पन्न भइसकेका छन्।

निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन यसपटक सुर्खेतमा मात्रै एक हजार आठ सय निजामती कर्मचारीहरूलाई चुनावी मैदानमा उतारिँदै छ। जसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहयोगी कर्मचारीहरू रहेका छन्। सुरक्षाको जिम्मा भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको कालीबहादुर गणलाई दिइएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार, जिल्लाभरका १४० मतदान स्थल र ३०२ मतदान केन्द्रको सुरक्षा विश्लेषण गरी वर्गीकरण समेत गरिएको छ। जसमध्ये २० वटा केन्द्रलाई ‘अति संवेदनशील’ र ८७ वटालाई ‘संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा निगरानी बढाइएको छ।

आगामी सोमबारदेखि नै सबै कर्मचारी र सुरक्षाकर्मीको टोली आवश्यक मतदान सामग्रीसहित आ-आफ्नो कार्यक्षेत्रमा खटिने तयारीमा छन्। उता उम्मेदवारहरूको चुनावी खर्चलाई पारदर्शी बनाउन निर्वाचन आयोगले बैंक खाता खोल्न दिएको निर्देशन बमोजिम सुर्खेतमा २० जना उम्मेदवारले आफ्ना खाता सञ्चालनमा ल्याइसकेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनले कडाइ समेत सुरु गरेको छ।

सुर्खेतमा फागुन १५ गतेदेखि नै मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण रोक लगाइएको छ भने छिमेकी जिल्ला कालीकोटमा पनि फागुन १६ गतेदेखि २२ गतेसम्मका लागि मदिरा निषेध गरिएको छ। कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले सूचना जारी गर्दै सार्वजनिक स्थल मात्र नभई निजी घरहरूमा समेत मदिरा सेवन गर्न नपाइने र नियम उल्लंघन गरेमा कडा कारबाही हुने चेतावनी दिनुभएको छ। यसरी दुवै जिल्लाका प्रशासन संयन्त्रहरू यतिबेला स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन अन्तिम तयारीमा जुटेका छन्।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार