२०८३ भदौ ३० , मंगलबार
प्राेफाइल

विजयीको भण्डा फहराउने दाउमा छन् मृत्युलाई छलेका कविराम



२०६९ साल मंसिरको घटना हो । वीरेन्द्रनगरमा कविराम पुरी कोठामा आराम गरिरहेका थिए । उ बेला उनी कोठा भाडामा डेरा गरी वीरेन्द्रनगरमा बस्थे । त्यो दिन एकाएक कहाँबाट उनी भएको कोठामा तत्कालीन सशस्त्र विद्रोहीहरु छिरे । गोली ठोके । परिवार घाइते भए । धन्न उनलाई केही भएन । ‘म राजाबादी भएकै कारण तत्कालीन माओवादीहरुले मलाई सुट गरेको हुन’ कविराम भन्छन्, ‘धन्न बाँचियो र अहिले जनताको सेवा गर्न पाइएको छ ।’ त्यो घटनाको स्वतन्त्र पुष्टि भने आजसम्म भएको छैन । भलै उनी राजसंस्था पक्षधर थिए । उ बेला राजावादीहरुलाई तत्कालीन माओवादीले पनि कडा कारबाही गर्दै आएको थियो ।


सुर्खेत क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कविरामले जनताको मायाकै कारण पटक–पटक ठूलो दुर्घटनाबाट बच्न सफल भएको बताउँछन् । ‘म त २०६० सालमा पनि ठूलो दुर्घटनाबाट बचेको हुँ’ उनले भने, ‘तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीचको भिड्न्तमा पनि बालबाल बाँचियो ।’ यो २०६० सालको घटना हो । उनी काम विशेषले कर्णालीमा चिसापानी पुगेका थिए । दुर्भाग्य, त्यही समय शाही नेपाली सेना र माओवादीको जनमुक्ती सेनाबीच ठूलो भिड्न्त भयो । त्यही भिडन्तमा पनि उनी बाँच्न सफल भए । चिसापानीमै व्यवसायी गर्ने ममता शाहीले बचाउन भूमिका खेलेको उनी बताउँछन् ।
२०७९ को पनि त्यस्तै दुर्घटनाबाट जोगिए । चुनावी प्रचार–प्रसारका लागि पश्चिम सुर्खेतको धनरासमा पुगेका थिए । त्यही बेला गाडी दुर्घटना भयो । उक्त दुर्घटनामा पनि भाग्यबस अप्रिय घटना भएन । ‘सुर्खेतको जनताको सेवा गर्ने भनेर नै जीवनमा धेरै घटनाबाट भाग्यबस बाँचेको छु’ कविराम भन्छन्, ‘यसपालि मतदाताले मलाई जिताउनु हुन्छ भन्नेमा म विश्वस्त छु ।’


कविराम सानेदेखि राजतन्त्रको पक्षधर हुन् । नेपाललाई हिन्दु धर्म राष्ट्र बनाउनु पर्ने र राजतन्त्रले आम जनताको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आएका छन् । राजाले सक्रिय शासनबाट विदा भएकै कारण अहिले मुलुकमा राजनीतिक अस्थिरता जन्मिएको, नेपाली दाजुभाइबीच नै हानाथापको वातावरण बनेको र देशमा शान्तिको वातावरण नभएको कविको तर्क छ ।
विस २०२६ साल बैशाख २६ गते आमा देवी र बुवा खड्कदेवबाट पञ्चपुरी नगरपालिका ५ मा जन्मिएका कविले सानै उमेरदेखि राजनीतिमा पाइला चालेका हुन् । खासगरी २०४७ सालदेखि राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संघको संस्थापक भएर राजनीतिमा होमिएका उनले २०५१ सालको आम निर्वाचनका लागि टिकट पाएका थिए । तर उमेर नपुगेका कारण निर्वाचनमा भाग लिन पाएनन् । पश्चिमका भएका सडक निर्माण अग्रणी भूमिका खेलेको बताउने कविले २०४७ यताका सबै राजनीतिक घटनाक्रममा सक्रिय सहभागिता भएका छन् ।
संघीयता कार्यान्वयनका सन्दर्भमा तत्कालीन सरकारले हालको कर्णाली प्रदेशलाई सुदुरपश्चिमसँग मिलाउने भनेर गरेको निर्णयका बिरुद्ध भएको नागरिक आन्दोलनमा पनि उनले संयोजनकारी भूमिका निर्वाह गरेर आन्दोलनलाई निष्कर्षमा पु¥याउन भूमिका खेले ।
राजनीति विशुद्ध समाज सेवा भएको बताउने कविले आत्मनिर्भरका लागि उद्योग व्यवसाय शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । उनले व्यवसाय मात्र गरेका छैनन् । झण्डै ४० जना नागरिकलाई रोजगारीसमेत दिएका छन् । पश्चिमको माटोले आवश्यक भएर विभिन्न दुर्घटनाबाट बचाएको बताउने कविले यसपालिको निर्वाचनको मतपरिणाम आफ्नै पक्षमा पर्ने दाबी गरे । ‘यसपालिका सबै उम्मेद्वारहरु मेरा भाइहरु हुन’ कवि भन्छन्, ‘मतदाताले यसपालि दाइलाई जिताउनु हुन्छ ।’ पश्चिम सुर्खेतको विकास निर्माणका लागि धेरै योगदान गरेको भन्दै उनले यसपालिको निर्वाचनमा मतदाताले न्याय गर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुर्खेत जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनले निष्ठाको राजनीति गर्दै आएका छन् । मुलुक गणतन्त्रमा गएपछि विकास निर्माणले गति लिन नसेको र देशमा व्यरोजगार बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले नेपाल र नेपालीको हितका लागि राजतन्त्र अपरिहार्य भइसकेको बताउँछन् ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार