२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा चुनावी सुरक्षा

 गाउँ–गाउँमा प्रहरीको ‘हाइ अलर्ट’



सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘भयरहित र शान्तिपूर्ण’ बनाउन कर्णाली प्रदेश प्रहरीले आफ्नो कसरत तीव्र पारेको छ। निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा तयारी र अनुगमनको नेतृत्व गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटा आफैँ मैदानमा उत्रिएका छन्।

डीआईजी सापकोटाले सुर्खेतका विभिन्न प्रहरी इकाईहरू र निर्वाचन सुरक्षाका लागि तयार पारिएका रणनीतिक स्थानहरूको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रहरी कार्यालयहरूको भौतिक अवस्था, जनशक्ति परिचालन र प्राविधिक तयारीको मसिनो गरी अनुगमन गरेको प्रहरी स्रोतले जनाएको छ। अनुगमनका क्रममा उनले निर्वाचनमा खटिने प्रहरी र निर्वाचन प्रहरी (म्यादी) लाई अनुशासन, निष्पक्षता र सजगता अपनाउन कडा निर्देशन दिएका छन्।

निर्वाचनको माहौल उत्कर्षमा पुगेका बेला सुरक्षामा कुनै सम्झौता नगर्न डीआईजी सापकोटाले मातहतका कर्मचारीलाई सचेत गराएका छन्। उनले भनेका छन् “नागरिकको शान्ति सुरक्षा र अमनचयन हाम्रो पहिलो दायित्व हो। निर्वाचन बिथोल्ने वा शान्ति सुरक्षामा खलल पुर्‍याउने कुनै पनि गतिविधिमाथि कडा निगरानी राख्नुहोस्।”

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहका अनुसार मतदाताले पूर्ण रूपमा सुरक्षित महसुस गर्ने गरी नयाँ सुरक्षा रणनीति तय गरिएको छ। टोलीले विशेषगरी निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षा र मतदानका दिन अपनाइने विशेष सतर्कताका विषयमा फिल्डमै पुगेर आवश्यक निर्देशन दिएको छ। सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय मिलाउन र सुरक्षा फौजलाई २४ सै घण्टा ‘अलर्ट’ रहन भनिएको छ। कर्णालीका दुर्गम र संवेदनशील मतदान केन्द्रहरूमा पनि विशेष टोली खटाइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार