सुर्खेत। नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक मिनबहादुर शाहीले आगामी फागुन २१ को निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने र बहुमतको सरकार बनाउने दाबी गरेका छन्। शनिबार सुर्खेतमा प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहीले एमालेको ‘मिसन बहुमत’ सफल हुने बताएका हुन्।
शाहीका अनुसार एमालेले देशका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ। उनले कर्णालीका जिल्लाहरूमा गठबन्धनबारे चलिरहेको हल्लाको खण्डन गर्दै भने, “रुकुम पश्चिमबाहेक कर्णालीका अन्य कुनै पनि जिल्लामा एमालेले गठबन्धन गरेको छैन, यस्ता निराधार हल्लाको पछि नलाग्न म आग्रह गर्दछु।” उनले पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट सर्वाधिक लोकप्रिय मतका साथ विजयी हुने विश्वास समेत व्यक्त गरे।

पत्रकार सम्मेलनमा शाहीले हालै बीबीसीले सार्वजनिक गरेको “Shot Like Enemies: Inside Nepal’s Gen Z Uprising” नामक डकुमेन्ट्रीप्रति पनि सङ्केत गरे। उनले निर्वाचनको मुखमा यस्ता सामग्री आउनुले मतदाताको मनोविज्ञान प्रभावित पार्न सक्ने टिप्पणी गरे।
“निर्वाचनलाई असर गर्ने खालका सामग्रीप्रति सञ्चारमाध्यमले ध्यान दिनुपर्छ,” उनले भने। साथै, ‘जेन–जी’ (नयाँ पुस्ता) को आन्दोलन र मुद्दामा एमालेको विमति नरहेको तर त्यसको आडमा हिंसा मच्चाउने प्रवृत्तिको भने विरोध गर्ने उनको प्रस्टोक्ति थियो। उनले युवाहरूमाझ एमालेप्रतिको आकर्षण घटेको नभई झन् बढ्दै गएको दाबी समेत गरे। शाहीले स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनावका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। मतपेटिकाको सुरक्षाको जिम्मेवारी विगतकै अभ्यासअनुसार सुरक्षा निकायले नै वहन गर्नुपर्ने उनको धारणा थियो। उनले मतदातालाई कुनै पनि प्रभावमा नपरी आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न समेत अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्