२०८३ वैशाख ६ , आइतबार
सुर्खेतमा चुनावी सुरक्षा 'टाइट'

 १८ गतेभित्र सबै टोली कार्यक्षेत्रमा पुग्ने, ‘साइबर सेल’ बाट सामाजिक सञ्जालकाे निगरानी



सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेतमा सुरक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मतदान गराउन सुरक्षा फौज र कर्मचारीहरूलाई मैदानमा उतारिसकिएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन्।

जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्लाका १२ रणनीतिक स्थानमा नेपाली सेना, ३२ वटा मुख्य क्षेत्रहरूमा सशस्त्र प्रहरी र  १४० मतदान स्थल र सबै पालिका समेट्ने गरी १७९ स्थानमा नेपाल प्रहरीकाे सुरक्षा निकाय यसरी खटिएका छन् । निर्वाचनका लागि कुल ९३५ नेपाल प्रहरी, २३८ सशस्त्र प्रहरी, ५१२ नेपाली सेना र १ हजार ८४० निर्वाचन प्रहरी (म्यादी) खटिनेछन्। थप सुरक्षाकर्मी र कर्मचारीहरू फागुन १८ गतेभित्र आ–आफ्नो कार्यक्षेत्रमा पुगिसक्ने कार्ययोजना बनाइएको छ।

जिल्लाभर कुल १४२ मतदान स्थल (२ अस्थायीसहित) र ३०५ मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले वर्गीकरण गरिएको छ । जसमा अति संवेदनशील २० स्थल, संवेदनशील ८७ स्थल र ३५ स्थल सामान्य छन् ।  भौगोलिक विकटता र विगतका घटनालाई आधार मानेर यो वर्गीकरण गरिएको हो। मतपेटिका ढुवानीका लागि सवारी साधनको व्यवस्थापन पनि अन्तिम अवस्थामा पुगेको प्रशासनले जनाएको छ।

यस पटकको चुनावमा एउटा नयाँ प्रयोग गरिएको छ। सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्ने, भ्रम फैलाउने वा चरित्र हत्या गर्ने गतिविधि रोक्न प्रहरीको साइबर टिम र नेपाल टेलिकमका कर्मचारीले चौबीसै घण्टा निगरानी गरिरहेका छन्। प्रजिअ उपाध्यायका अनुसार हालसम्म जिल्लामा लिखित रूपमा आचारसंहिता उल्लंघनको उजुरी परेको छैन। मौखिक रूपमा आएका सामान्य गुनासाहरूलाई तत्कालै सम्बोधन गरिएको छ। सबै राजनीतिक दल र उम्मेदवारहरूले अहिले सौहार्दपूर्ण वातावरणमा आफ्ना कार्यक्रमहरू गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार