२०८३ वैशाख ३ , बिहीबार
चुनावी सुरक्षा बुझ्न प्रधानसेनापति सुर्खेतमा

‘भयरहित वातावरण बनाउन’ कडा निर्देशन



सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारी बुझ्न नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सुर्खेत आइपुगेका छन्। निर्वाचन नजिकिँदै गर्दा कर्णालीको सुरक्षा अवस्था र सेनाको परिचालनबारे बुझ्न उनी उत्तरपश्चिम पृतना हेडक्वाटर ओर्लिएका हुन्।

बिहीबार सुर्खेत पुगेका प्रधानसेनापति सिग्देलले कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव र ‘प्रदेश निर्वाचन कमाण्ड सेल’ का पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल गरे। सो क्रममा उनले कर्णालीका १० वटै जिल्लाको सुरक्षा संवेदनशीलता र निर्वाचनका चुनौतीबारे जानकारी लिएका थिए। प्रधानसेनापतिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। उनले सुरक्षाकर्मीहरूलाई उच्च सतर्कता अपनाउन र प्रभावकारी सुरक्षा संयन्त्र सुनिश्चित गर्न समेत सचेत गराएका छन्।

छलफलका क्रममा उत्तरपश्चिम पृतनाका पृतनापति दिपेशजंग शाहले निर्वाचनको सुरक्षा योजनाबारे विस्तृत जानकारी गराएका थिए। उनले कर्णालीका विकट र संवेदनशील क्षेत्रमा जनशक्ति परिचालन, उपलब्ध स्रोतसाधनको व्यवस्थापन र हवाई गस्तीसम्बन्धी योजनाबारे प्रधानसेनापतिलाई ब्रिफिङ गरेका थिए। सेनाले कर्णालीका विमानस्थल, कारागार र अति संवेदनशील मतदान स्थलहरूको सुरक्षा जिम्मा लिइसकेको सन्दर्भमा प्रधानसेनापतिको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार