२०८३ भदौ ३० , मंगलबार
प्राेफाइल

२८ वर्षमै संसद छिर्ने कसरतमा रवि



२८ वर्ष उमेर । सामान्यतया नेपाली समाजमा जीवनको जग बसाल्ने समय हो । विकसित मुलुक हुँदो हो त २८ वर्षमै देशको उच्च तहमा पुग्ने कल्पना गर्न सकिन्थ्यो । तर सुर्खेतको एउटा ग्रामीण भेगमा हुर्के बढेका रवि हमाल ठकुरी भने प्रतिनिधिसभामा जिरेर देशको सेवा गर्ने यात्रा दौडिएका छन् । उनको यो यात्रा गन्तव्यसम्म पुग्छ कि पुग्दैन त्यो थाहा पाउन भने फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम कुर्नै पर्छ । तर २८ वर्षे युवाले यति ठूलो साहस गर्नु आफैमा गौरवपूर्ण विषय हो ।
यो उमेर अधिकांश युवाहरुका लागि जीवनको करियर बनाउने बेला हो । स्थायी जागिर, व्यापार, वैदेशिक रोजगारी या घरजम आदि, इत्यादी । तर रवि भने अहिले नै राजनीतिमा पाइला चालेर आफूलाई परिपक्क बनाउन चाहन्छ ।


२०५४ साल पुस २७ गते सिम्ता गाउँपालिका–१ मा जन्मिएका रवि किरण हमाल ठकुरी यतिबेला सुर्खेतको राजनीतिमा ‘टप अफ द टाउन’ बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य समेत रहेका २८ वर्षीय यी ठिटो सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । पढेलेखेका, प्रस्ट बोल्ने र भ्रष्टाचारविरुद्ध खरो उत्रिने स्वभावका कारण उनले पुराना नेताहरूलाई गम्भीर चुनौती दिएका छन् ।
भाइ र पूर्वसांसदसँगको रोचक भिडन्तमा रविले चुनौती दिइरहेका छन् । लामो समयदेखि यो क्षेत्र नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ‘लालकिल्ला’ मानिँदै आएको थियो । तर यसपालि पूर्णबहादुर मैदानमा छैनन् । कांग्रेसले उनका भाइ विष्णु खड्कालाई उठाएको छ भने एमालेले २०७४ मा पूर्णबहादुरलाई नै हराएर इतिहास रचेका ध्रुवकुमार शाहीलाई तेस्रो पटक मैदानमा सारेको छ ।


यी दुई ‘पुराना खेलाडी’ का बीचमा रवि किरण आफ्नो नयाँ भिजन र जोससहित उभिएका छन् । आन्दोलनबाट उब्जिएका नेता रविकिरण केवल किताब पढेर राजनीतिमा आएका होइनन् । वीरेन्द्रनगरमा स्कुले शिक्षा सकेर काठमाडौँ पुगेका उनले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर काम गरे । त्यही आन्दोलनले उनलाई सक्रिय राजनीतिको बाटो देखायो । उनको शैक्षिक योग्यता पनि उस्तै दमदार छ ।
उनले रत्न राज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चारमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । एकैसाथ दुई जिल्लाबाट सिफारिस रविको लोकप्रियता यति थियो कि उनको नाम सुर्खेत–१ र सोलुखुम्बु गरी दुई जिल्लाबाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो । तर उनले आफ्नै गृहजिल्ला र आफ्नै भूगोल रोजे । राजनीतिमा नयाँ र कान्छो उम्मेदवार भए पनि सुशासनको पक्षमा उनी जति ‘हक्की’ छन्, त्यसले सुर्खेतका युवा र शिक्षित मतदातामाझ एउटा नयाँ तरंग पैदा गरेको छ । ‘पुरानाको काम देखिएन, अब नयाँको पालो’ भन्दै घरदैलोमा हिँडेका रविको यो पहिलो संसदीय यात्राले सुर्खेत–१ को विरासत भत्काउँछ वा जोगाउँछ, त्यो भने फागुन २१ ले नै फैसला गर्नेछ ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार