२०८३ साउन ११ , सोमबार
नारायण कोइरालाको चुनावी घोषणापत्र

प्रदेश अस्पताललाइ शिक्षण अस्पताल, हरेक पालिकामा आवाशिय विद्यालय



सुर्खेत । सुर्खेत क्षेत्र नं. २ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नारायण कुमार कोइरालाले महत्वकाक्षी चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
कोइरालाले आर्थिक समृद्धि, गुणस्तरीय शिक्षा–स्वास्थ्य, दिगो पूर्वाधार विकास र पारदर्शी सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको स्पष्ट खाका अघि सारेका छन् ।
जसमध्ये कृषि र भूमि स्रोतको दीगो उपयोगमार्फत स्थानीय उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन् । साना किसान, महिला कृषक र युवालाई लक्षित गरी उन्नत बीउ, सिँचाइ, भण्डारण तथा प्रशोधन पूर्वाधार विस्तार गरिने कोइरालाको घोषणा पत्रका उल्लेख गरेका छन् ।
स्थानीय कृषि केन्द्र स्थापना, न्यूनतम समर्थन मूल्यको कानुनी सुनिश्चितता, सहकारीमार्फत प्रत्यक्ष खरिद प्रणाली र बजार पारदर्शितालाई प्राथमिकतामा राखिएको छ । वन, जडीबुटी र जैविक विविधताको संरक्षणसँगै जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन र घरेलु उद्योग प्रवद्र्धन गर्ने लक्ष्य पनि घोषणापत्रमा समेटिएको छ ।
त्यस्तै गुणस्तरीय शिक्षाका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म स्पष्ट मापदण्ड लागू गर्ने, शिक्षकको निरन्तर तालिम र डिजिटल शिक्षण सामग्रीको विस्तार गर्ने योजना प्रस्तुत गरिएको छ । प्रत्येक पालिकामा आवासीय विद्यालय स्थापना र मध्यमपश्चिम विश्वविद्यालयलाई आवासीय तथा अनुसन्धानमुखी विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।


स्वास्थ्यतर्फ प्रदेश अस्पताललाई ट्रमा सेन्टर र रेफरल केन्द्रका रूपमा विकास गर्ने, आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक औषधि र दक्ष जनशक्ति सुनिश्चित गर्ने तथा मोबाइल स्वास्थ्य सेवामार्फत दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने योजना अघि सारिएको छ । मातृ–शिशु मृत्युदर न्यूनीकरण, पोषण कार्यक्रम र मानसिक स्वास्थ्य सेवामा पनि विशेष जोड दिइएको छ ।
त्यस्तै सुर्खेत–२ अन्तर्गत सबै पालिकालाई समेटेर एकीकृत पूर्वाधार गुरुयोजना तर्जुमा गरिने कोइरालाको प्रतिबद्धता छ । दुर्गम बस्ती जोड्ने पुल र सडक निर्माण, उच्च गतिको इन्टरनेट विस्तार, व्यवस्थित शहरी पूर्वाधार विकास तथा सुर्खेत विमानस्थल विस्तारमा विशेष पहल गरिने उल्लेख गरिएको छ । भेरी करिडोर निर्माणलाई निरन्तरता दिँदै धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय सर्किट विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने, सार्वजनिक सेवा र खरिद प्रक्रियामा डिजिटल प्रणाली अपनाउने तथा जनप्रतिनिधि र उच्च अधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नीति निर्माण र बजेट विनियोजनमा नागरिक सहभागिता सुनिश्चित गर्दै सामाजिक अडिट र सार्वजनिक सुनुवाइलाई अनिवार्य बनाइने घोषणामा उल्लेख छ ।
कोइरालाले “स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोगमार्फत समृद्ध सुर्खेत निर्माण” आफ्नो मूल लक्ष्य भएको बताएका छन् । उनले विकासका लाभ सबै वर्ग, क्षेत्र र समुदायमा समान रूपमा पु¥याउने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थनको अपिल गरेका छन् । समग्रमा, कृषि–आधारित अर्थतन्त्र सुदृढीकरणदेखि डिजिटल शासन प्रणालीसम्म समेटिएको यो प्रतिबद्धता सुर्खेत–२ मा विकास र सुशासनको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार