सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्त र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले कडा कदम चालेको छ। प्रशासनले आजैदेखि लागू हुने गरी जिल्लाभर मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै निर्वाचनको अन्तिम नतिजा नआएसम्मका लागि मदिरा निषेध गरेको छ। सार्वजनिक स्थानमा मदिरा सेवनले शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। यदि कसैले सूचनाको अवज्ञा गरी मदिरा बेचेको वा खाएको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।

निर्वाचनको अघिल्लो दिन अर्थात् २० गते राति १२ बजेदेखि मतदान नसकिँदासम्म जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि, केही अत्यावश्यक सेवाका साधनहरूलाई भने चल्न दिइनेछ । निर्वाचनकाे दिन एम्बुलेन्स, दमकल र शव वाहन, खानेपानीको ट्याङ्कर र दूध ढुवानी गर्ने सवारी, अस्पताल, विद्युत् र दूरसञ्चार सेवाका साधन र कूटनीतिक नियोगका र अनुमति प्राप्त सवारी साधन भने चल्न पाइने छ ।
तर मदिरा र गाडी मात्र होइन, प्रशासनले १८ गतेदेखि मतदान नसकिँदासम्म मानवरहित हवाई उपकरण (ड्रोन) उडाउन पनि प्रतिबन्ध लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ड्रोन उडानमा रोक लगाइएको हो।
प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै जिल्लाबासीलाई यो नियम पालना गरेर सहयोग गरिदिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्