२०८३ वैशाख ६ , आइतबार
खेलाडीको घाउमा ट्राफिक प्रहरीको मलम

कप्तान सावित्रा भण्डारीलाई सुर्खेतबाट आर्थिक सहयोग



सुर्खेत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक सहयोग गरेको छ। मैदानमा निरन्तर पसिना बगाउँदै राष्ट्रको शिर उच्च बनाउन योगदान पुऱ्याएकी कप्तान साम्बाको उपचारमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले कार्यालयका प्रहरी कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरेका हुन्।

ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालको नेतृत्वमा कार्यालयमा कार्यरत ११७ जना इच्छुक प्रहरी कर्मचारीहरूले स्वैच्छिक रूपमा संकलन गरेको ५० हजार रुपैयाँ साम्बाको बैंक खातामा जम्मा गरिएको छ। राष्ट्रका लागि खेल मैदानमा सङ्घर्ष गर्ने खेलाडीहरू देशका गौरव भएको उल्लेख गर्दै प्रहरी उपरीक्षक रिजालले अप्ठ्यारो परिस्थितिमा मानवीय संवेदना प्रकट गर्नु र सहकार्य गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो। यस्ता सामाजिक कार्य र सद्भावले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत कार्यालयले व्यक्त गरेको छ। संकलित रकम कप्तान भण्डारीको कृषि विकास बैंकमा रहेको व्यक्तिगत खातामा सिधै जम्मा गरी हस्तान्तरण गरिएको हो।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार