२०८३ वैशाख ६ , आइतबार
कर्णालीको चुनावी अंकगणित

सुरक्षा र जनशक्ति परिचालनको काम अन्तिम चरणमा



सुर्खेत। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशको चुनावी माहोल निकै तातिएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार यसपटक कर्णालीका १० जिल्लाबाट १० लाख ३७ हजार २५० जना मतदाताले आफ्नो भविष्यको फैसला गर्दैछन्। निर्वाचनका लागि ९४१ मतदानस्थल र १ हजार ४३७ मतदान केन्द्र तोकेर सुरक्षा र जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको छ।

कर्णालीका १० जिल्ला मध्य प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा धेरै २ लाख ४८ हजार ९४३ मतदाता छन् भने यहाँ १४० मतदानस्थल र ३०२ मतदान केन्द्र कायम गरिएको छ। दैलेखमा १ लाख ६१ हजार २०४ मतदाताका लागि १३९ मतदानस्थल र २०८ मतदान केन्द्र तोकिएको छ। जाजरकोटमा १ लाख ७० हजार ९१ मतदाता छन्, जहाँ ८८ मतदानस्थल र १४६ मतदान केन्द्र रहेका छन्। सल्यानमा १ लाख ६२ हजार ४४९ मतदाताका लागि ११७ मतदानस्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको छ। रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता छन् भने ७६ मतदानस्थल र १४० मतदान केन्द्र रहेका छन्।

कालीकोटमा ८४ हजार ६४६ मतदाताका लागि १०३ मतदानस्थल र १२७ मतदान केन्द्र तोकिएको छ। जुम्लामा ७१ हजार ७३९ मतदाता छन् भने ८३ मतदानस्थल र १०८ मतदान केन्द्र रहेका छन्। मुगुमा ३६ हजार ६१ मतदाताका लागि ६७ मतदानस्थल र ६९ मतदान केन्द्र कायम गरिएको छ। हुम्लामा ३४ हजार ३२७ मतदाता छन् भने ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन्। सबैभन्दा कम मतदाता रहेको डोल्पामा २४ हजार ११५ जनाका लागि ६८ मतदानस्थल र ६८ वटै मतदान केन्द्र तोकिएको छ। प्रदेशभर जम्मा पुरुष ५,२७,६८६, महिला ५,०९,३६१ र अन्य ३ जना मतदाता रहेका छन्।

कागजमा १० लाख मतदाता देखिए पनि गाउँका घरहरू भने यतिबेला सुनसान जस्तै छन्। कर्णालीका १२ निर्वाचन क्षेत्रबाट १३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, तर उनीहरूलाई एउटै कुराले पिरोलिरहेको छ— “भोट हाल्ने मान्छे गाउँमै छैनन्।” रोजगारी र अध्ययनका लागि ठूलो सङ्ख्यामा युवाहरू भारत, चीनको ताक्लाकोट र नेपालकै ठूला सहरतिर गएका छन्। हुम्लाको अदानचुली–४ का हिक्मत सिंह भन्छन्, “मेरो गाउँपालिकाबाट मात्रै १६ सय युवा भारतमा छन्। उनीहरू नफर्किए मतदान केन्द्र खाली हुने डर छ।” हुम्लाको लिमी नाका बन्द हुँदा त झन् उता रहेका मतदातालाई गाउँ पुग्नै सकस छ।

एक–एक मतले जित-हारको फैसला हुने भएकाले उम्मेदवारहरू यतिबेला सामाजिक सञ्जाल र टेलिफोनमार्फत प्रदेश बाहिर रहेका मतदातालाई गुहारिरहेका छन्। सुर्खेत–२ का उम्मेदवार रमेशकुमार सापकोटा भन्छन्, “एक मतले परिणाम बदल्न सक्छ, त्यसैले समय मिलाएर घर फर्कन सबैलाई आग्रह गर्दछु।” हुम्ला, डोल्पा जस्ता दुर्गम जिल्लामा सुरक्षा र सामग्री ढुवानीका लागि हेलिकोप्टरको समेत व्यवस्था मिलाइएको छ। तर, मतदाता नै नफर्किए मत प्रतिशत निकै कम हुने चिन्ताले उम्मेदवार र निर्वाचन कार्यालय दुवैलाई झस्काएको छ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार