‘रास्वपाले यसपालि कति मत ल्याउँछ ? साँचिक्कै चुनाव जित्ला त ? चुनाव नजिते पनि कसैलाई जिताउन र हराउन भने पुग्ने मत काट्छ होला ?’ वीरेन्द्रनगरका चिया चौतारामा आजभोली दिनहुँ जसो यस्तै गफ हुन्छन् ।
दुई जना साथी–साथीबीच भेट भयो कि चुनावी चर्चा सुरु भइहाल्छ । चुनावी गफगाफमा सबभन्दा पहिले आउने नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हो । निर्वाचनको मिति नजिसिकदै जाँदा कांग्रेस–एमाले विरासत जोगाउँछन् कि जोगाउँदैनन भन्ने भन्दा पनि रास्वपाले कति मत ल्याउँछ ? के सुर्खेतमा पनि रास्वापाले चुनाव जित्ला ? जस्ता गफहरुले बजार पिटेको छ । अनि पुराना दलहरुलाई भित्रभित्रै त्रसित छन् । चुनाव जित्ने हार्नेको कुनै लेखाजोखा छैनन् ? यसरी सुर्खेतमा चुनावी चर्चा चुलिनुको पछाडिको कारण रास्वपाका उम्मेद्वार शक्तिशाली छन् भन्ने प्रमाण हो । ती शक्तिशाली व्यक्ति हुन् रमेश कुमार सापकोट ।
सामान्य परिवारमा हुर्किएर आफूलाई शक्तिशाली तहमा उभ्याएका सापकोटा यातायात क्षेत्रको व्यवस्थापनमा एक स्थापित नाम हो । कारण, सुर्खेतको माटोप्रति उनको ठूलो योगदान छ । निरन्तर सामाजिक सेवा र व्यावसायिक हकहितमा सक्रिय सापकोटा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत वैकल्पिक राजनीतिका सारथी बन्ने दाउमा छन् । यही फागुन २१ गते हुने गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ मा रास्वपाले उनै सापकोटालाई उम्मेद्वार बनाएको छ ।

मुलकभर बैकल्पिक शक्तिको खोजी भइरहेका बेला उनले पनि आजसम्म सुर्खेतको विकास निर्माण नहुनुको कारण बताउँदै मतदाताको घरदैलोमा पुगेका छन् । उनी जहाँ पुग्छन् त्यही विकास र परिवर्तन, समृद्धि र सुशासनको एजेण्डाहरु सुनाउँछन् । अरुले विश्वास मान्लान नमान्लान तर उनी ढुक्कका साथ जिल्लाको विकास निर्माणको खाका सुनाउँछन् ।
दशकौसम्म पश्चिम सुर्खेतको अवस्था किन परिवर्तन भएन ? उनी मतदातालाई नै प्रश्न गर्छन् र भन्छन् तपाइले विकास गर्ने नेता नै चिन्नु भएन् । अहिले म आएको छु एक पटक अवसर दिनोस् । जेनजी पुस्ताले गरेको बिद्रोह, सुशासन र समृद्धि जस्ता एजेण्डा लिएर उनी मतदाताको घरदैलोमा पुगेका छन् ।
पश्चिम सुर्खेतको विकास निर्माणमा के कति योगदान गर्न सक्छन् त्यो समयले बताउँला तर व्यक्तिगत रुपमाले भने उनले आफूलाई प्रमाणित गरिसकेका छन् । कुनै समय भइमान्छेका रुपमा रहेका उनले आफूलाई शक्तिशाली पदमा पु¥याए अदम्व्य साहस देखाएका छन् । मध्यम बर्गिय परिवारमा हुर्किएका सापकोटा भइमान्छेका प्रतिनिधि हुन् । सुर्खेतको साटाखानीमा बुवा दुर्गाप्रसाद र आमा मनिकला सापकोटाको कोखबाट २०३८ साल मंसिर १५ गते जन्मिएका सापकोटा सहयोगी मनका धनी छन् ।

सामाजिक र राजनीतिक आकाशमा एक उदीयमान र जुझारु व्यक्तित्वको रुपमा आफूलाई अघि सारेका सापकोटा वीरेन्द्रनगर–७ का स्थायी बासिन्दा हुन् । एसएलसीसम्म औपचारिक शिक्षा हाँसिल गरेका उनले अनुव र दक्षताका सयौँ डिग्री पास गरेका छन् । औपचारिक शिक्षालाई एसएलसीमै सीमित राखेर उनले समाजसेवा र सार्वजनिक सरोकारका क्षेत्रमा आफूलाई होम्याए थिए । उनको जीवनको यात्रा संघर्ष, नेतृत्व र परिवर्तनप्रतिको अविचलित निष्ठाले भरिएको छ ।
राजनीतिक यात्राको सुरुवाती चरणमा सापकोटाले लामो समय नेपाली कांग्रेसको वैचारिक छहारीमा बिताए । २०७२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरी राजनीतिमा औपचारिक पाइला चालेका उनी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वीरेन्द्रनगर नगर कमिटीको सचिव जस्तो जिम्मेवार पद कुशलतापूर्वक सम्हाल्ने अवसर पाए । यद्यपि, समयको माग र देशमा वैकल्पिक राजनीतिको आवश्यकतालाई आत्मसात् गर्दै उनी हाल रास्वपाको अभियानलाई गाउँ–बस्तीसम्म पु¥याउन अहोरात्र खटिरहेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं. २ लाई आफ्नो कार्यक्षेत्र बनाएर उनले आगामी दिनमा नयाँ राजनीतिक संस्कार र विकासको खाका कोर्ने संकल्प लिएका छन् ।
सापकोटाको परिचय केवल राजनीतिमा मात्र सीमित छैन; उनी कर्णाली प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने एक सफल अभियन्ता पनि हुन् । २०५६ सालमा मजदुरका रुपमा यातायातका क्षेत्रमा प्रवेश गरेका सापकोटाले सिंगो यातायात क्षेत्रकै नेतृत्व गर्ने तहमा पुगेका छन् । हाल नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका सापकोटाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान गरेका छन् ।
२०६९ सालमा काँक्रेविहार यातायात व्यवसायी संघको सचिव पदबाट सुरु भएको उनको व्यावसायिक नेतृत्व यात्राले २०७५ सालमा सोही संघको अध्यक्ष पदसम्म पु¥यायो । अहिले पनि उनी सुर्खेत काँक्रेविहार यातायात व्यवसायी संघको नेतृत्व गरिरहेका छन् । उनको यही कार्यकुशलताकै कारण हाल नेपाल यातायात व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्ष बनेर समग्र प्रदेशकै यातायात जगतको नेतृत्व गर्नै अवसर प्राप्त गरे । यसका साथै, २०७३ सालमा सुर्खेत उपत्यका नगर विकास समितिको सदस्य भएर उनले वीरेन्द्रनगरको सहरी योजना र पूर्वाधार विकासमा समेत प्रत्यक्ष योगदान पु¥याएका छन् ।
सामाजिक रूपमा पनि सापकोटा उत्तिकै सक्रिय छन् । रोटरी क्लव जस्ता अन्तर्राष्ट्रिय सेवामूलक संस्था र वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था जस्ता स्थानीय आर्थिक निकायहरूमा उनको अर्थपूर्ण आबद्धता रहेको छ । व्यावसायिक क्षेत्रको गहिरो अनुभव र राजनीतिक निष्ठाको संगम उनी अब राष्ट्रिय राजनीतिमा नयाँ ऊर्जा र योजनाका साथ अघि बढ्ने तयारीमा छन् । उनको यो यात्रा सुर्खेतको समुन्नति र आम नागरिकको भरोसाको केन्द्र बन्छ कि बन्दैन त्यो जान्न भने फागुन २१ गतेपछि निर्वाचनको मतपरिणाम कुर्नै पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्