नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् । बिहीबार सुर्खेतमा कांग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । ‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन’, सभापति थापाले भने, ‘पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु–एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’ यस्तै सभापति थापाले जेनजी अान्दाेलनका विषयमा एमालेको धारणा अस्वीकार्य रहेको बताए। उनले फागुन २१ मा हुन लागेको चुनाव अप्रत्याशित रूपमा आएको उल्लेख गर्दै कांग्रेसले चुनाव घोषणा भएको दिनदेखि परिणामको चिन्ता नगरी निरन्तर काम गरिरहेको बताए। कांग्रेसबारे अनावश्यक संशय सिर्जना गर्न खोजिएको उनको आरोप थियो। ‘फागुन २१ को चुनाव आउन केही दिन मात्र बाँकी छ। यस्तो अवस्थामा चुनाव आउँछ भन्ने कल्पना पनि गरेका थिएनौँ। चुनाव घोषणा भएको दिनदेखि कांग्रेस परिणामको चिन्ता नगरी आफ्नो काममा लागिरहेको छ,’ थापाले भने, ‘तर कांग्रेसबारे भ्रम फैलाउने प्रयास भइरहेको छ। यो सरकारलाई पनि साथ दिँदै सही ट्र्याकमा ल्याएर छाड्ने हाम्रो प्रतिबद्धता छ।’

भदौ २३ र २४ का घटनाबारे नेपालमा फरक–फरक दृष्टिकोण देखिएको उल्लेख गर्दै उनले एमालेको भनाइप्रति आपत्ति जनाए। एमालेले संसद् भवन पहिले जलेको र त्यसपछि मात्रै गोली चलेको दाबी गरेको भन्दै थापाले त्यसप्रति असहमति व्यक्त गरे। त्यसैगरी, जेनजी आन्दोलनका विषयमा मौन बसेको भन्दै उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति पनि कटाक्ष गरे। ‘यस विषयमा दुई प्रकारका प्रवृत्ति देखिएका छन्,’ उनले भने, ‘एउटा प्रवृत्तिले इन्कार गर्छ र भन्छ— भदौ २३ भन्दा अघि देश ठीकठाक थियो, सबै ठीकै थियो, केही बिग्रेको थिएन। अर्को प्रवृत्ति बोल्दैन, केही भन्दैन, तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ। यही दुई सोचका कारण नेपालमा २३ र २४ को अवस्था आएको हो। नेपाली कांग्रेस यी दुवै सोचभन्दा फरक छ।’
प्रतिक्रिया दिनुहोस्