२०८३ वैशाख ६ , आइतबार
सुर्खेतको चुनावी रन्को

पुराना सारथी ओझेलमा, नयाँ युवाले तताए मैदान



सुर्खेत। यतिबेला सुर्खेतको राजनीतिमा एउटा ठूलो शून्यता र नयाँ हलचल एकैसाथ देखिएको छ। २०४८ सालदेखि सुर्खेतको चुनावी कमान्ड सम्हाल्दै आएका दुई हस्ती पूर्णबहादुर खड्का र हृदयराम थानी यसपटक आफैँ मैदानमा छैनन्। कांग्रेसको ‘विशेष महाधिवेशन’ पछि बदलिएको राजनीतिक समीकरणले यी दुई नेतालाई चुनावी प्रतिस्पर्धाबाट बाहिर राखेको छ।

आफू नलडे पनि खड्का र थानीले आफ्ना ‘नजिकका’ मान्छेलाई अघि सारेका छन् । सुर्खेत–१: पूर्णबहादुर खड्काले आफ्नै साइँला भाइ विष्णुबहादुर खड्कालाई टिकट दिलाएका छन्। तर, नैतिकताको प्रश्न उठाउँदै पूर्णबहादुर अहिलेसम्म जिल्ला टेकेका छैनन्। सुर्खेत–२: हृदयराम थानीले आफ्ना विश्वासपात्र नारायणकुमार कोइरालालाई मैदानमा उतारेका छन्। थानी कोइरालालाई जिताउन सदरमुकाममै अड्डा जमाएर बसेका छन्।

यसपटक सुर्खेत–१ र २ दुवै क्षेत्रमा पुराना दलका लागि ‘नयाँ शक्ति’ टाउको दुखाइ बनेको छ।  सुर्खेत क्षेत्र नं. १ मा एमालेका ध्रुवकुमार शाही २०७४ का विजेता र २०७९ का निकटतम प्रतिद्वन्द्वी शाही फेरि पनि एमालेको बलियो खम्बा बनेर उभिएका छन्।

साेही क्षेत्रमा कांग्रेसले विष्णुबहादुर खड्कालाइ उम्मेद्वार बनाएकाे छ । उनलाइ  दाइको विरासत र आफ्नो व्यवसायिक छविको भरमा छन्, तर ‘परिवारवाद’ को आरोप र निर्वाचन क्षेत्रमा भोट हाल्न नपाउने (नामावली नभएको) कुराले उनलाई गाह्रो पारेको छ। रास्वपाबाट टेकबहादुर सिंह कांग्रेस छाडेर घण्टी समातेका सिंहले पुराना दलको मत काट्ने डर देखिन्छ।

त्यस्तै  सुर्खेत क्षेत्र नं. २ को त्रिपक्षीय टक्कर देखिन्छ । जसमा एमालेका कुलमणि देवकोटा छन् । हक्की’ स्वभावका देवकोटा एमालेको संगठन र आफ्नो सामाजिक छविको भरमा जित्ने दाबी गर्छन्। कांग्रेसका नारायण कोइराला मैदानमा छन्र । थानीको साथ र विकासवादी नेताको छवि उनको बलियो पक्ष हो। रास्वपाका रमेश सापकोटा पुराना पाटीकाे टाउकाे दुखाइकाे विषय बनेका छन् । यातायात व्यवसायी सापकोटाले ‘जेन-जी’ पुस्ता र पुराना दलसँग रुष्ट मतदाताको मन तानिरहेका छन्।

सुर्खेतमा झन्डै ५२ हजार सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्। हरेक चुनावमा उनीहरूलाई ‘लालपुर्जा’ को आश्वासन दिइन्छ, तर चुनाव सकिएपछि कसैले वास्ता गर्दैनन्। यसपटक वीरेन्द्रनगरका १३ बस्तीसहित झन्डै ७ हजार निर्णायक मत कसको पोल्टामा जान्छ, त्यसले नै हार-जितको फैसला गर्नेछ। निर्वाचनलाई भयरहित बनाउन सुर्खेतका १४२ स्थलमध्ये २० वटालाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। झन्डै ३,५०० सुरक्षाकर्मी र २,००० कर्मचारी चुनावी मोर्चामा खटिएका छन्।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार