२०८३ भदौ ३१ , बुधबार
फेरि सर्यो १० औँ राष्ट्रिय खेलकुद 

अब चुनावपछि मात्रै हुने, लम्बियो कर्णालीको पर्खाइ



सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन १ गतेदेखि हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै खेलकुद प्रतियोगिता पछि सार्ने निर्णय गरेको हो।

यसअघि जेठ र त्यसपछि फागुनका लागि तय गरिएको मिति पटक-पटक सर्दा खेलप्रेमी र खेलाडीहरूमा केही निराशा छाए पनि सरकारले निर्वाचनपछि उपयुक्त समयमा खेल सञ्चालन गर्ने जनाएको छ।

यसअघि कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले फागुनको मिति तोकेको थियो। प्रतियोगिताका लागि सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड बजेट समेत विनियोजन गरिसकेको छ। मिति सरे पनि प्रतियोगिताको प्राविधिक र व्यवस्थापकीय तयारी भने जारी छ।

१०औँ राष्ट्रिय खेलकुदको पहिचानका रूपमा यसअघि नै लोगो र मस्कट सार्वजनिक भइसकेका छन् । कर्णालीको हिमाली क्षेत्रमा पाइने लोपोन्मुख जनावर ‘रेडपान्डा’ लाई मस्कट बनाइएको छ। सात रङ्गको समायोजनमा चन्द्र र सूर्य अङ्कित झण्डालाई लोगोमा समेटिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकै लागि डेडिकेटेड पोर्टल समेत सञ्चालनमा ल्याइसकेको छ, जसले गर्दा मिति तय हुनेबित्तिकै काम अघि बढाउन सहज हुनेछ।

नियमअनुसार हरेक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिताको नवौँ संस्करण २०७९ सालमा गण्डकी प्रदेशको पोखरामा भएको थियो। कर्णालीले पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाएकोले यहाँ पूर्वाधार निर्माणका कामहरू (रंगशाला लगायत) अन्तिम चरणमा छन्। अब चुनावको चटारो सकिएपछि कर्णालीको मैदानमा खेलाडीहरूको भिडन्त देख्न पाइनेछ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार