२०८३ वैशाख ५ , शनिबार
गिरीघाटका बाढी पीडितकाे माग

“आश्वासन होइन, अब पुनस्थापनाको योजना चाहियाे”



सुर्खेत। बराहताल–२ स्थित गिरिघाटको बाढी पीडित शिविरमा अचेल चुनावको बाजा खुब बज्छ। कर्णाली राजमार्गको छेउमै रहेका अस्थायी टहराहरूलाई छोएर दिनहुँ उम्मेदवारका गाडीहरू गुड्छन्। माइकिङमा घन्किने चुनावी गीत र आश्वासनका भाषणले बस्तीको सन्नाटा त तोड्छ, तर एक दशकभन्दा बढी समयदेखि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका बाढी पीडितको मनमा भने उत्साह भर्न सकेको छैन।

चुनाव नजिकिँदै गर्दा हातमा पर्चा र मुखमा विकासका लामा गफ बोकेर नेताहरूको ताँती बस्ती पस्ने गरेको छ। तर, बाढी पीडितका लागि यो केवल ‘बासी आश्वासन’ को पुरानै शृङ्खला मात्र बनेको छ।

तीन चुनाव, एउटै दुःख: १२ वर्षमा पनि फिरेन दिन

२०७१ साल साउनमा भेरी नदीमा आएको विनाशकारी बाढीले बराहतालका पक्का, रानीघाट, इखेनी, डोप्खा र सिस्नेरी लगायतका गाउँहरू बगायो। सुर्खेतमा ११५ जनाको ज्यान गयो र १ हजार ४५ परिवार विस्थापित भए। त्यसबेला गिरिघाटमा आएका १५० परिवार १२ वर्षदेखि अझै पुनर्स्थापनाको पर्खाइमा छन्।

यो बीचमा उनीहरूले २०७४ र २०७९ का दुई ठूला निर्वाचन भोगे। यो तेस्रो पटक हो, जहाँ उम्मेदवारहरू फेरि त्यही ‘पुनर्वास’ को कार्ड बोकेर भोट माग्न आएका छन्। स्थानीय रघुवीर नेपाली भन्छन्, “१२ वर्षमा खोला पनि फर्कन्छ भन्थे, तर हाम्रा दिन फिरेनन्। नेताहरू चुनावमा बाचा गर्छन्, जितेपछि बस्ती बिर्सन्छन्।”

भोट हाल्ने मन छैन, तर विकल्प पनि छैन

बस्तीकी सिर्जना विकलाई यसपालि भोटै हालौँ कि नहालौँ भन्ने दोधार छ। “पहिले पनि हाम्रो माग पूरा गर्छौँ भन्नेलाई नै पालिका र केन्द्रमा भोट हाल्यौँ,” उनले चित्त दुखाइन्, “तर जितेपछि कोही पनि बस्ती फर्केर आएनन्। अहिले फेरि सबै उम्मेदवारको लर्को लागेको छ।”

बस्तीमा समस्याका पहाड छन्। खानेपानीको हाहाकार छ, बालबालिकालाई स्कुल जान टाढा छ। गिट्टी कुटेर, दाउरा बेचेर र मजदुरी गरेर दैनिक छाक टार्नुपर्ने बाध्यता छ। स्थानीय रूपलाल विक भन्छन्, “बाह्र हिउँद-बर्खा त्रिपालमै वित्यो। अझै हाम्रो पुनर्स्थापनाको छाँटकाँट छैन। भोट पनि किन दिने र ?” छाक टार्न मुस्किल भएपछि बस्तीका अधिकांश युवाहरू रोजगारीको खोजीमा भारत पसेका छन्। चुनावमा भोट हाल्न उनीहरू गाउँ फर्किने छाँट छैन। अहिले बस्तीमा बालबालिका, बुढाबुढी र महिलाहरू मात्र बाँकी छन्। घरमा जोस छैन, केवल भोलि के खाने र कहाँ बस्ने भन्ने चिन्ता मात्रै छ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य गरी नेपाली कांग्रेसका नारायण कोइराला, नेकपा (एमाले)का कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल र रास्वपाका रमेशकुमार सापकोटाबीच तीव्र प्रतिस्पर्धा छ। सबै उम्मेदवारले गिरिघाटका बाढी पीडितको घाउमा मलम लगाउने र पुनर्स्थापना गर्ने भाषण त गरिरहेका छन्, तर १२ वर्षदेखि पीडा झेलिरहेका विस्थापितहरूले यसपटक कसलाई र कसरी पत्याउने हुन्, त्यो भने फागुन २१ गतेको नतिजाले नै बताउनेछ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार