राजनीतिमा केही पात्रहरू यस्ता हुन्छन्, जसको जीवन कुनै चलचित्रको कथाभन्दा कम हुँदैन । २०३६ साल मंसिर २२ गते आमा मनसरा र बुवा बज्रबहादुरबाट सुर्खेतको बराहताल, तरंगामा जन्मिएका झकबहादुर मल्ल ‘सुदीप’ त्यस्तै एउटा नाम हो । पढाइमा अब्बल, एसएलसीमा प्रथम श्रेणी ल्याएका उनी चाहेको भए सजिलै सरकारी जागिर खान सक्थे । तर, १४ वर्षकै उमेरमा काँधमा झोला भिरे र समाज बदल्ने ‘हुटहुटी’ बोकेर राजनीतिमा होमिए ।

अहिले उनै झकबहादुर सुर्खेत क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार बनेका उनी पश्चिम सुर्खेतको समृद्धिको सपना पूरा गर्न र मुलुकमा भइरहेको बेथिती रोक्ने मुद्धा बोकेर मतदातासँग पुगेका छन् । भुइ मान्छेका अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुँदा झण्डै उनी झण्डै १७ महिना जेल सजाय भोग्नु प¥यो । जेलमा पर्दा पनि हिम्मत हारेनन् । बरु जेलबाट सुरुङ्ग खनेर निस्कने योजना बनाए । हिजो सुरुङ खनेर जेल तोडेका उनी अहिले संसद् छिरेर देशको बेथिति तोड्ने सपना देखिरहेका छन् । अनि २०५८ साल माघ २ गतेको ‘सुर्खेत जेलब्रेक’ गरे । माओवादी भएको आरोपमा २०५७ सालमा आफ्नै घरबाट पक्राउ परेका उनले जेलभित्रै विद्रोहको योजना बुने । उनकै नेतृत्वमा ३० जना बन्दीहरू सुरुङ खनेर जेलबाट भाग्न सफल भए । त्यो घटना जनयुद्धकै एउटा सनसनीपूर्ण मोड थियो । जेलबाट निस्किएपछि उनी सिधै युद्धको मोर्चामा फर्किए । कम्पनीदेखि ब्रिगेड कमिसारसम्म बनेर उनले धेरै लडाइँहरूको कमान्ड सम्हाले ।

युद्धले उनलाई जति दियो, त्यति नै खोस्यो । २०५८ सालमा आफ्ना दाजु कुलबहादुर मल्ल र २०५९ मा जीवनसंगिनी भूमिसरा वलीलाई युद्धकै मैदानमा गुमाए । ‘शहीदको बलिदानले गणतन्त्र र समावेशिता त आयो, तर जनताको अवस्था फेरिएन’ उनी भन्छन्, ‘अब व्यवस्था मात्र होइन, नागरिकको अवस्था बदल्न हामी आफैँ रुपान्तरण भएर आएका छौँ ।’
झकबहादुरले केवल बन्दुक मात्र बोकेनन्, विकासको जग पनि बसाले । २०५९/६० सालतिर पश्चिम सुर्खेतको चौकुनेस्थित गुटु बजार उनकै नेतृत्वमा व्यवस्थित गरिएको थियो । साल्कोट–पलाइटे जोड्ने ‘जनमुक्ति मार्ग’ को सुरुवात पनि उनकै पहलमा भएको हो ।
शान्ति प्रक्रियापछि वाइसीएलको केन्द्रीय नेतृत्व हुँदै कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रूपमा समेत उनले काम गरे । २०७१ को बाढी र ७२ को भूकम्पका बेला उनले गरेको राहत र पुनर्निर्माणको कामलाई नै अहिले मतदाताले आफ्नो जितको आधार मान्ने उनको विश्वास छ ।

पार्टी राजनीतिमा पुराना भए पनि झकबहादुर पहिलोपटक संसदीय चुनाव लड्दै छन् । सुर्खेत–२ मा २०७० यता माओवादीले उम्मेदवार उठाएको थिएन । यसपालि नेकपाबाट मैदानमा उत्रिएका उनी भन्छन्, ‘जेलब्रेक गर्ने बेला धेरैले असम्भव भन्थे, तर हामीले गरेर देखायौँ । अहिले सुशासन र समृद्धि पनि त्यसैगरी सम्भव छ भन्ने मेरो दृढ विश्वास छ ।’
उनीसँग सुर्खेतका लागि स्पष्ट मार्गचित्र छ । ‘जेनजी’ पुस्ताको माग अनुसार भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन स्थापना गर्ने, पश्चिम सुर्खेतमा जलयात्रा (राफ्टिङ) को विकास र सिमेन्ट उद्योगको पूर्ण सञ्चालन गर्ने र प्रत्येक पालिकामा आईटी कलेज स्थापना गर्ने संकल्प छ । ‘म शासक बन्न होइन, सेवक बन्न आएको हुँ’ उनी दोहो¥याउँछन् ।
प्रतिक्रिया दिनुहोस्