सुर्खेत। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेत क्षेत्र नम्बर १ को चुनावी मैदान निकै तातेको छ। यसपटकको प्रतिस्पर्धा पुराना अनुहार, पारिवारिक विरासत र नयाँ पुस्ताको उदयबीच त्रिपक्षीय जस्तो देखिन थालेको छ। मतदाताहरू भने पुराना नेताका आश्वासन र परिवारवादको जालोभन्दा माथि उठेर नयाँ विकल्पको खोजीमा जुटेका छन्।
नेकपा एमालेले यसपटक फेरि ध्रुवकुमार शाहीलाई नै मैदानमा उतारेको छ। २०७४ सालमा सांसद चुनिएका शाहीमाथि विगतको कार्यकालमा संसदमा मौन बसेको र जनताका मुद्दालाई ओझेलमा पारेको आरोप छ। “पहिले पनि जिताएर पठायौँ, तर न संसदमा बोलिदिने कोही भयो, न गाउँको समस्या सुनिदिए,” स्थानीय मतदाताको गुनासो छ। उनलाई यसपटक पुरानै कार्यशैली र नयाँ पुस्ताको जोससँग भिड्न निकै हम्मे–हम्मे पर्ने देखिन्छ।

नेपाली कांग्रेसले विष्णुबहादुर खड्कालाई उम्मेदवार बनाएपछि पार्टीभित्रै असन्तुष्टिको भुस सल्केको छ। विष्णु निवर्तमान सांसद पूर्णबहादुर खड्काका सहोदर भाइ हुन्। लामो समयदेखि एउटै परिवारले मात्रै अवसर पाएको भन्दै कांग्रेसभित्रै ‘परिवारवाद’ को चर्को विरोध भइरहेको छ। अझ रोचक कुरा त के छ भने, विष्णुको मतदाता नामावली नै यो क्षेत्रमा छैन। “आफैँले आफैँलाई भोट हाल्न नपाउने उम्मेदवारलाई हामीले किन भोट हाल्ने?” भन्ने प्रश्नले उनलाई घरदैलोमा लखेटिरहेको छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टेकबहादुर सिंह चुनावी मैदानमा छन्। उनी पनि कुनै बेला कांग्रेसकै पुराना उम्मेदवार हुन्। खड्का र सिंह दुवैको शैक्षिक योग्यता ‘टेस्ट पास’ मात्र रहेको भन्दै बौद्धिक र युवा मतदाताहरू उनीहरूप्रति त्यति उत्साहित देखिएका छैनन्। नयाँ पार्टीबाट आए पनि पुरानै स्कुलिङ भएकाले उनीबाट मतदाताले धेरै अपेक्षा गर्न नसकेको टिप्पणी भइरहेको छ।
यी सबै पुराना र विवादित अनुहारको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि किरण हमाल भने नयाँ विकल्पका रूपमा उदाएका छन्। राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हमाल यो क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन्। ‘जेन्जी’ आन्दोलनको भावना बोकेका र शिक्षित भएकाले उनले युवा पुस्तालाई आफूतिर आकर्षित गरिरहेका छन्। पुराना दल र पारिवारिक राजनीतिको विकल्प खोजिरहेका मतदाताका लागि हमाल एउटा आशाको किरण बनेका छन्। समग्रमा, सुर्खेत–१ मा यसपटक पुराना नेताका लागि आफ्नो साख जोगाउनु फलामको चिउरा चपाउनु सरह छ। मतदाताले ‘भाइ र दाइ’ रोज्छन् कि ‘युवा र भिजन’ रोज्छन्, त्यो भने फागुन २१ को परिणामले नै देखाउनेछ।
प्रतिक्रिया दिनुहोस्