सुर्खेत। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा भोलि (बिहीबार) सुर्खेत आउने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न उनी सुर्खेत आउन लागेका हुन्। विशेष महाधिवेशनको रापतापपछि आफ्नै निर्वाचन क्षेत्र सर्लाही–४ बाहिर थापाले सम्बोधन गर्न लागेको यो नै पहिलो ठूलो चुनावी सभा हो।

पपुलिष्ट राजनीतिको लहरसँगै काठमाडौँ छाडेर मधेश (सर्लाही) झरेका थापा पछिल्लो समय आफ्नै क्षेत्रमा बढी केन्द्रित थिए। तर, कर्णालीको केन्द्र सुर्खेतमा कांग्रेसको माहौल तताउन उनी भोलि यहाँ ओर्लिने तय भएको छ। सुर्खेतमा कांग्रेसले आयोजना गर्न लागेको यो अहिले सम्मकै ठूलो चुनावी आमसभा हो। चुनाव हार्ने डरले प्रायः शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा खुम्चिरहेका बेला सभापति थापा भने कार्यकर्तामा उत्साह भर्न देश दौडाहामा निस्किएका हुन्।
यो चुनावी सभालाई अर्थपूर्ण रूपमा हेरिएको छ। किनकि सुर्खेत निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो। गगन थापाकै नेतृत्वमा भएको विद्रोहले विशेष महाधिवेशन सफल भएपछि खड्का अहिले पार्टीको वैधानिकतालाई लिएर कानुनी लडाइँमा छन्। विशेष महाधिवेशनको किचलोपछि केही समय ‘ब्याक’ भएका खड्का अहिले मौन छन्। यस्तो अवस्थामा गगनको सुर्खेत आगमनले यहाँको कांग्रेस राजनीतिमा कुन नयाँ मोड ल्याउने हो, त्यो भने हेर्न बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस्