२०८३ वैशाख ६ , आइतबार
युवाविहीन गाउँ चुनावी राैनक

भारतबाट आउनेको भरमा हारजितकाे नतिजा



सुर्खेत । कर्णालीका पहाडी भिरपाखाहरूमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाजले सन्नाटा तोडेको छ। हातमा झण्डा र झोलामा आश्वासनका रंगिन घोषणापत्र बोकेर नेताहरू गाउँ छिरेका छन्। अरू बेला ‘नमस्कार’ सम्म नफर्काउने नेताहरू अहिले बाटोमा जो भेटिए पनि दुई हात जोडेर झुकिरहेका छन्। कोही त मतदाताका खुट्टामै ढोग्न पुग्छन् भने कोही शिर निहुँराएर आर्शिवाद मागिरहेका देखिन्छन्।

तर, चुनावको यो तामझामभित्र एउटा नमीठो सुनसान छ। उम्मेदवारलाई स्वागत गर्न बाटोमा न त तन्नेरीको ताँती छ, न त पुरानो चुनावको जस्तो उमङ्ग। गाउँ पुगेका उम्मेदवारलाई स्थानीय कार्यकर्ताले दिने रिपोर्टिङ अचेल फेरिएको छ। “कति भोट थपिएला?” भन्ने प्रश्नको उत्तर अहिले सहर र भारतबाट फर्किनेहरूको संख्यामा निर्भर छ। कालिकोटका गाउँहरू अहिले युवाविहीन जस्तै छन्।

नरहरिनाथ गाउँपालिका–३ का धर्मप्रसाद उपाध्याय भन्छन्, “उम्मेदवारहरू दिनदिनै आउँछन्, विकासका ठूला सपना बाँड्छन्। तर, गाउँका युवाहरू त रोजगारीका लागि भारत र सहर पसेका छन्। मतदातामा उत्साह होइन, नेताप्रति वितृष्णा र प्रश्न मात्रै छ।” नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टका अनुसार साबिकको कर्णालीमा सबैभन्दा धेरै मतदाता भएको उनको पालिकामा यसपालि मतदान निकै कम हुने डर छ। १३ हजार ६३ कुल मतदाता रहेको यो पालिकामा आधा मत पनि नखस्ने अनुमान स्थानीयको छ। “गाउँ बाहिर रहेकाहरू फर्किएनन् भने मतदानको संख्या ह्वात्तै घट्छ,” बिष्टले चिन्ता व्यक्त गरे। स्थानीय तह बनेपछि गाउँमै रोजगारी पाइने आश गरेका युवाहरू कृषि र जडीबुटीका योजना कागजमै सीमित भएपछि गाउँ छोड्न बाध्य भएका हुन्।

२०७४ र २०७९ को चुनावमा गठबन्धनको सहारा लिएका दलहरू यसपटक एक्लाएक्लै मैदानमा छन्। त्यसैले यो चुनावलाई कालिकोटमा दलहरूको वास्तविक ‘शक्ति परीक्षण’ का रूपमा हेरिएको छ। मतदाता फकाउन उम्मेदवारहरू अनेकौँ जुक्ति लगाइरहेका छन् । खड्कबहादुर विश्वकर्मा (नेकपा) कहिले स्याउ बगैँचा अवलोकन गरेको त कहिले खेतमा हलो जोतेको भिडियो सामाजिक सञ्जालमा हालेर मतदाता तान्ने प्रयास गर्दैछन्। प्रतिस्पर्धाको भीड: कांग्रेस, एमाले र माओवादीका उम्मेदवारसँगै रास्वपाका प्रकाश न्यौपाने पनि पुराना दललाई चुनौती दिइरहेका छन्। स्वतन्त्रसहित १० जना उम्मेदवार अहिले जिल्लाभर घरदैलो र आमसभामा व्यस्त छन्। सबैले ‘मैले नै जित्छु’ भनेर दाबी त गरेका छन्, तर मतदाताको चिसो प्रतिक्रियाले उनीहरूलाई झस्काएको छ।

प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार