आजभन्दा डेढ दशक पहिले प्रायको घरमा चर्पी थिएनन् । ट्वाइलेट गर्न जंगलतिर दौड्नुपर्ने बाध्यता थियो । बन्द कोठाभित्र अर्थात चर्पीमा दिशापिसाव गर्नुपर्छ भन्ने ज्ञान थिएन । सम्पन्नशाली र शहरीयाहरुको घरमा मात्रै चर्पी थियो । गाउँघरका बाटाघाट र चौकचौकमा दिसा पिसावको दुगन्ध फैलिएको हुन्थ्यो । ठिक त्यही बेला नेपालमा दिसा पिसाव लुकाउने अभियान अर्थात खुल्ला दिशामुुक्त अभियान सुरु भयो । विभिन्न सरकारी तथा गैरसरकारी निकायले गाउँगाउँमा चर्पी बनाउने अभियान थाले । गैरसरकारी संस्थाले चर्पी बनाइ दियो । तर दिशा पिसाव गर्न मानिसहरु जंगलतिर दौड्न छोडेनन् । त्यही बेला जाजरकोटमा झाडापखालाबाट ठूलो धनजनको क्षति भयो । यसरी झाडा पखाला फैलिनुको कारण पानीमा दिशा मिसिनु पत्ता लाग्यो । त्यसपछि बल्ल मानिसहरु चर्पीमै दिशा पिसाव गर्न बाध्य भए ।

सुर्खेतमा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानको नेतृत्वकर्तामध्येका एक थिए कुलमणि देवकोटा । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको केन्द्रीय उपाध्यक्ष रहँदा उनले सरसफाइको क्षेत्रमा ठूलो क्रान्ति ल्याए । पूर्वीको घोरेटादेखि पश्चिको लगामसम्म कुदे । जहाँ पुगे चर्पीमा मात्रै दिसा पिसाव गर्नुपर्छ भन्ने ज्ञान बाँढे । खुल्ला दिशामुक्त गाविस घोषणाका सबै कार्यक्रममा उनी जोडिए । मन नपरेको कुरा भन्न नडराउने हक्की स्वभावका देवकोटाको नाम त्यतिबेला निकै चर्चित थियो । उ बेला देवकोटालाई सरसफाई अभियन्ताका रुपमा आम नागरिकले चिन्थे । पछिल्लो समय राजनीतिमा सक्रिय भएका देवकोटा अहिले सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् ।
चुनावी अभियानका कार्यक्रममा उनले आफूलाई राजनीतिकर्मीभन्दा पनि सामाजिक अभियन्ताको रुमा बढी चिनाउछन् । सामाजिक संस्था स्काउट, रेडक्रस सोसाइटीदेखि, खानेपानी र सरफाईका क्षेत्रका आफूले गरेको योगदानको बखान गर्न पछि पर्दैनन् । स्कुले जीवनमा स्काउट र रेडक्रस जस्ता सामाजिक संस्थाबाट सेवाको बाटो रोजेका देवकोटा आफूलाई ‘निडर र भिजनरी’ नेताका रूपमा चिनाउछन् ।
आजभन्दा तीन दशक पहिले अर्थात २०५४ सालमै तत्कालीन जर्बुटा गाविसको वडा नं. १ को अध्यक्ष भइसकेका देवकोटाले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेका छन् । सुर्खेत उपत्यका खानेपानी संस्थामा सल्लाहकार, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष बनेर उनले नगरबासीलाई पानी खुवाउने योजनामा महत्वपूर्ण भूमिका खेलेका छन् ।

देवकोटाको राजनीतिक यात्रा २०४९ सालमा वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको हो । तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियु छैटौँमा आबद्ध भएर उनी राजनीतिमा होमिएका थिए । रोचक कुरा त के छ भने, २०५४ सालको स्थानीय निर्वाचनमा उनी तत्कालीन जर्बुटा गाविस–१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । पहिलो पटकमै जनताको मन र मत जितेर वडाध्यक्ष बनेका उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
२०५४ को चुनाव जितेपछि भने उनी एमालेमा प्रवेश गरेका थिए । २०५६ मा जिल्ला कमिटी सदस्य र पछि जिल्ला उपाध्यक्ष बनेका देवकोटा २०८१ सालमा भएको एमालेको नवौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए । अहिले पार्टीको कमान्ड पनि देवकोटाकै काँधमा छ ।
तत्कालीन सुर्खेत बहुमुखी क्याम्पसबाट कानुनमा प्रवीणता प्रमाणपत्र तह (आईएल) सम्मको अध्ययन गरेका छन् । आमा नन्दाकुमारी र बुवा भक्तीराम देवकोटाबाट २०२९ साल चैत १० गते सुर्खेतको वीरेन्द्रनगर–११, गाग्रेतालमा जन्मिएका कुलमणि देवकोटा यसपटक सुर्खेत क्षेत्र नम्बर २ बाट नेकपा एमालेको प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । एक्लै चुनावी प्रतिस्पर्धा भइरहेको यो क्षेत्रमा एमालेको विरासत फर्काउने भारी अहिले उनकै काँधमा छ
सुर्खेत–२ को इतिहास पल्टाउँदा यहाँ गठबन्धनको खेल चल्दै आएको छ । २०७४ मा एमाले र माओवादी मिल्दा एमालेका नवराज रावतले जितेका थिए भने २०७९ मा कांग्रेस र माओवादी मिल्दा कांग्रेसका हृदयराम थानी विजयी भए। तर, यसपटकको चुनावमा कुनै पनि दलले बैसाखी टेकेका छैनन् । एमालेका जिल्ला अध्यक्ष समेत रहेका कुलमणि आफ्नै संगठनको बलमा यो क्षेत्रलाई फेरि ‘लालकिल्ला’ बनाउने दाउमा छन् । स्थानीय मुद्दामा स्पष्ट भिजन राख्ने र हक्की स्वभावका कारण उनले मतदातामाझ राम्रो प्रभाव पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्