२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा चुनावको अन्तिम तयारी

१५ हजार सुरक्षाकर्मी मैदानमा, हिमालमा घोडा र हेलिकोप्टरको सहारा



सुर्खेत। कर्णाली प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल अब ‘काउन्टडाउन’ मा पुगेको छ। चुनाव आउन जम्मा ९ दिन बाँकी रहँदा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने निर्वाचन सामग्रीहरू जिल्ला-जिल्ला पुर्‍याउने काम अन्तिम चरणमा पुगेको छ। प्रदेशभरका १० वटै जिल्लामा मतपत्र र आवश्यक सामग्री पुगिसकेको र अब मतदान केन्द्रसम्म पठाउने तयारी भइरहेको छ।

निर्वाचनलाई भयरहित र शान्त बनाउन कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरी (म्यादी) चुनावी सुरक्षामा खटिएका छन्। प्रदेशका संवेदनशील क्षेत्र मानिने ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षा जिम्मा भने नेपाली सेनाले लिएको छ। सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्लाका विमानस्थलमा सेनाले ‘ड्युटी’ सम्हालिसकेको प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले जानकारी दिए।

कर्णालीका हिमाली जिल्लाहरूमा भने हिउँ र भूगोलले सुरक्षा निकायलाई चुनौती दिएको छ। दुर्गम भेगका मतदान स्थलमा निर्वाचन सामग्री पुर्‍याउन र मतदानपछि मतपेटिका संकलन गर्न हेलिकोप्टर (हेली ड्रप) प्रयोग गर्ने योजना बनाइएको छ। सडक नपुगेका र हिउँले ढाकिएका विकट स्थानमा भने सेनाले घोडाको सहारा लिएर गस्ती गरिरहेको छ। प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले प्रहरीलाई निष्पक्ष र स्वतन्त्र भएर सुरक्षा दिन निर्देशन दिइसकेका छन्।

कर्णालीमा कुल १० लाख ३७ हजार २५० जना छन् । प्रदेशभर ९४१ मतदान स्थल र  १४ सय ३७मतदान केन्द्र छन् ।  यसपटक करिब ६० देखि ७० प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीहरू भोलि र पर्सिसम्म सबै जिल्लाका तोकिएका कार्यक्षेत्रमा पुगिसक्नेछन्।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार