२०८३ वैशाख ६ , आइतबार
चौकुनेमा आँखा उपचारको नयाँ जग

७५ जनालाई तालिम, बिजौरामा उपचार केन्द्र खुल्ने



सुर्खेत। गाउँबस्तीमै आँखाको ज्योति जोगाउने अभियान अन्तर्गत सुर्खेतको चौकुने गाउँपालिकामा तीन दिने ‘प्राथमिक आँखा उपचार तालिम’ भव्य रूपमा सम्पन्न भएको छ। फागुन ९ देखि ११ गतेसम्म चलेको यो तालिमले विद्यालय र समुदाय स्तरमा आँखाका बिरामी पहिचान गर्न नयाँ जनशक्ति तयार पारेको छ। तालिमसँगै चौकुनेको बिजौरामा अब स्थायी रूपमै आँखा उपचार केन्द्र स्थापना हुने निश्चित भएको छ, जसले पश्चिम सुर्खेतका नागरिकलाई ठूलो राहत दिनेछ।

तालिममा चौकुनेका ३२ जना महिला स्वास्थ्य स्वयंसेविका र ४३ जना शिक्षक प्रतिनिधि गरी कुल ७५ जनाको सहभागिता थियो। बालबालिकाहरूमा देखिने दृष्टिको कमजोरी समयमै पत्ता लगाएर उनीहरूको पढाइ लेखाइमा सुधार ल्याउने उद्देश्यले शिक्षकहरूलाई तालिम दिइएको हो। गाउँपालिका अध्यक्ष खड्क वि.क. ‘विवस’ ले तालिमको उद्घाटन गर्दै आँखा जस्तो संवेदनशील अंगको सुरक्षाका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी चौकुनेका सभापति चेत बहादुर वि.सी. को अध्यक्षतामा सम्पन्न भएको थियो।

तालिमको समापनसँगै चौकुनेबासीका लागि अर्को खुसीको खबर थपिएको छ। वडा नं. ४ को बिजौरामा ‘आँखा उपचार केन्द्र’ स्थापना गर्न गाउँपालिका, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउण्डेशनबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा अध्यक्ष विवस, आँखा अस्पतालका रामलाल आचार्य र च्यारिटी फाउण्डेशनकी डा. विद्या पन्तले हस्ताक्षर गरेका छन्। केन्द्र स्थापना भएपछि सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर सदरमुकाम वा अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।

तालिममा सहभागीहरूले अब गाउँका कुनाकाप्चामा पुगेर आँखाका बिरामी खोज्ने र उनीहरूलाई सही सल्लाह दिने प्रतिबद्धता जनाएका छन्। गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोला: “बालबालिकाको भविष्य उज्यालो बनाउन उनीहरूको दृष्टि सुरक्षित हुनुपर्छ।” प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क.: “यस्ता कार्यक्रमले स्थानीय स्तरमै स्वास्थ्य चेतना बढाउन मद्दत पुग्छ।” स्वास्थ्य शाखाका गगन बहादुर पाण्डे, सुर्खेत आँखा अस्पतालका व्यवस्थापक घन बहादुर थापा र नेत्र अधिकृत प्रेम दीक्षितले तालिममा प्राविधिक सहजीकरण गरेका थिए।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार