२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधिसभा निर्वाचन २०८२

१४ गते सुर्खेतमा कांग्रेसको चुनावी सभा



सुर्खेत । आउँदो बिहीबार अर्थात यही फागुन १४ गते नेपाली कांग्रेसका सुर्खेतमा चुनावी आमसभा गर्ने भएको छ । चुनावी आमसभा सुर्खेतको घण्टाघर डबलीमा हुने नेपाली कांग्रेसले जनाएको छ ।
सभालाई पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समितिले जनाएको छ ।
प्रदेशस्तरिय यो सभालाई कांग्रेसले विशाल आमसभा भनेको छ । सभामा कर्णाली प्रदेशबाट कार्यकर्ता वीरेन्द्रनगरमा उतारेर शक्ति प्रदर्शन गर्ने जनाएको छ । सभामा सुर्खेतसहित छिमेकी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरु समेत सहभागी गराउने कांग्रेसको तयारी छ । ‘चुनावी सभामा सुर्खेतका दुई वटै क्षेत्रबाट उम्मेद्वारहरुले सम्बोधन गर्नुहुन्छ’ चुनावी प्रचार प्रसार समितिमा रहेका एक नेताले भने, ‘हाम्रो उद्देश्य कर्णाली सबै उम्मेद्वार आउन भन्ने हो तर समय व्यवस्थापन गर्न सक्ने जति मात्र आउनु हुन्छ ।’

कर्णालीको भौगोलिक बिकटताका कारण उम्मेद्वारहरु मतदाता भेट्न गाउँ–गाउँ पुगेका कारण सबै उम्मेद्वार सभामा उपस्थित हुन सम्भव नहुने कांग्रेसले जनाएको छ । यद्यपी सुर्खेतबाट समानुपातिक र प्रत्येक्षतर्फका सबै उम्मेद्वारले चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
चुनावी सभाअघि कांग्रेसले वीरेन्द्रनगरको मंगलगढी चौकबाट विशाल ¥याली निकाल्ने जनाएको छ । सुर्खेतमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वीरेन्द्रनगरमा चुनावी सभा गरेको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार