२०८३ वैशाख ६ , आइतबार
मिथ्या सूचनाको भ्रम चिर्न पत्रकारलाई आग्रह

निर्वाचनमा तटस्थ र सत्य समाचारमा जोड



सुर्खेत। निर्वाचनको माहोल तातिरहेका बेला सामाजिक सञ्जालमा फैलिने गलत र भ्रामक सूचना ठूलो चुनौती बनेको छ। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले यस्ता मिथ्या सूचनाको भ्रम चिर्न र सत्य समाचार मात्रै प्रवाह गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सुर्खेतमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता’ सम्बन्धी कार्यक्रममा बोल्दै उनले पत्रकारिताको धर्म भुल्न नहुने कुरामा जोड दिए। वरिष्ठ उपाध्यक्ष आचार्यले निर्वाचनका बेला पत्रकारहरू कुनै पक्ष वा दलतिर नढल्की तटस्थ बस्नुपर्ने बताए। उनले भने, “तिमीहरूले समाचार लेख्दा तथ्य र प्रमाणित भएका विषयलाई मात्रै प्राथमिकता देऊ। कसैको दबाब वा प्रभावमा परेर सत्यलाई ओझेलमा पार्ने काम नगर।”

आचार्यले मतदान र मतगणनाको समयमा समाचार संकलनका लागि पत्रकारहरूलाई सहज पहुँच हुनुपर्ने भन्दै यसका लागि सरकारी निकायलाई वातावरण मिलाइदिन समेत आग्रह गरे। कार्यक्रममा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले पनि आफ्नो धारणा राखे। उनले निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे। निर्वाचनलाई मर्यादित र भयरहित बनाउन सञ्चार माध्यमको भूमिका निर्णायक हुने उनको भनाइ थियो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचन रिपोर्टिङ कसरी गर्ने र आचारसंहिता कसरी पालना गर्ने भन्ने विषयमा छलफल भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आचार्य र महासंघका केन्द्रीय कोषाध्यक्ष कृष्ण अधिकारीले सहभागी पत्रकारहरूलाई सहजीकरण गरेका थिए। यो कार्यक्रमले सुर्खेत र आसपासका पत्रकारहरूलाई निर्वाचनका बेला हुनसक्ने गल्ती र भ्रमपूर्ण सूचनाबाट जोगिन नयाँ ऊर्जा दिएको छ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार