सुर्खेत। चुनाव नजिकिँदै गर्दा नेकपा एमालेले यसपालि भड्किलो चुनावी सभाभन्दा पनि ‘घरदैलो’ लाई मुख्य हतियार बनाएको छ। फेसबुक र भर्चुअल दुनियाँमा मात्र रमाउनुको साटो जनताको आँगनमै पुगेर मन जित्न एमालेले आफ्ना साढे ६ लाखभन्दा बढी संगठित सदस्यलाई मैदानमा उतारेको हो। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार देशभरका ६ लाख ६२ हजार संगठित सदस्यलाई आ-आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिइएको छ।

‘जहाँ सदस्य, त्यहीँ प्रचार’
पार्टीले यसपटक आफ्ना कार्यकर्तालाई स्पष्ट पारेको छ— जो जहाँ छौ, त्यहीँका मतदातालाई भेट र मत माग। “भूगोलमा रहेका सबै संगठित सदस्यलाई मतदाताको घरमै पुगेर चुनावी प्रचारमा लाग्न भनिएको छ,” शाहीले भने। यो रणनीति अनुसार अब एमालेका कार्यकर्ताहरू गाउँ, टोल र छिमेकमा पुगेर मतदाताको सुख-दुःखमा साथ दिँदै भोट माग्नेछन्।
ठूला सभाभन्दा कामको फेहरिस्त
यसपालि एमालेले ठूला-ठूला आमसभा गरेर शक्ति प्रदर्शन गर्नुभन्दा पनि जनतासँग सिधै कुरा गर्ने नीति लिएको छ। आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा गरेका राम्रा कामहरूको बेलिबिस्तार लगाउँदै मतदातालाई बुझाउने जिम्मेवारी कार्यकर्तालाई दिइएको छ। एमालेले आफ्नो चुनावी अभियानलाई ‘जनतासँग प्रत्यक्ष संवाद’ का रूपमा अघि बढाएको छ। यसले गर्दा मतदाताका गुनासो सुन्न र पार्टीको एजेन्डा स्पष्ट पार्न सजिलो हुने एमालेको विश्वास छ।
किन रोजियो घरदैलो ?
अहिलेको ‘डिजिटल’ जमानामा सामाजिक सञ्जालमा गरिने प्रचारभन्दा घरमै पुगेर गरिने भलाकुसारी बढी प्रभावकारी हुने ठहर एमालेले गरेको छ। उम्मेदवार र कार्यकर्ताले मतदातालाई प्रत्यक्ष भेट्दा आत्मीयता बढ्ने र मत सुरक्षित हुने दाबी पार्टीको छ।
प्रतिक्रिया दिनुहोस्