सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशभर बढ्दै गर्दा कर्णालीका हिमाली जिल्लामा भने बेग्लै छटपटी छ। हुम्ला, मुगु र डोल्पाका लेकहरू बाक्लो हिउँले ढाकिएका छन्। विडम्बना कस्तो छ भने, निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा कतिपय उम्मेदवार आफैँले आफैँलाई भोट हाल्न आफ्नो गाउँ पुग्न सक्ने अवस्था छैन।आकाशबाट हेलिकोप्टरमार्फत मतपत्र र सुरक्षाकर्मी गाउँ पुगिसके पनि भुइँमा हिउँ जमेका कारण उम्मेदवार र मतदाताका गोडा चल्न सकेका छैनन्।
आफ्नै गाउँ जान पाइनन् टासी
हुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार टासी ल्हान्जोम अहिले ठूलो चिन्तामा छिन्। उनले भोट हाल्ने गाउँ नाम्खा गाउँपालिका–६ को हल्जी हो। तर, त्यहाँ पुग्न पार गर्नुपर्ने ५,२०० मिटर अग्लो न्यालु लेक हिउँले पुरिएको छ। “प्रचार-प्रसार त परको कुरा भयो, म आफैँ पनि भोट हाल्न जान नपाउने हो कि भन्ने डर लागिसक्यो,” टासीले आफ्नो पीडा सुनाइन्। चिसो छल्न काठमाडौं, सुर्खेत र नेपालगन्ज झरेका मतदाता पनि हिउँका कारण गाउँ फर्किन पाएका छैनन्। हल्जी, जाङ र तिलगाउँका तीनवटा केन्द्रमा ६७२ मतदाता छन्, तर अहिले गाउँमा ३० प्रतिशत मात्रै मानिस रहेको वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन्।

हेलिकोप्टर चार्टर गर्ने कि हिउँ पन्छाउने ?
शक्तिशाली दलका उम्मेदवारहरूले मतदाता ओसार्न हेलिकोप्टर चार्टर गर्ने हल्ला चलाइरहेका छन्। तर, टासी जस्ता सामान्य उम्मेदवारलाई भने त्यो सम्भव छैन। “मलाई त चुनाव प्रचारका लागि सामान्य गाडी खर्च जुटाउन गाह्रो छ, कसरी हेलिकोप्टर चार्टर गरूँ?” उनले प्रश्न गरिन्। टासी मात्र होइन, नेकपा एमालेका उम्मेदवार दल फडेरा पनि हिउँकै कारण नाम्खाको माथिल्लो भेगमा पुग्न सकेका छैनन्। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका माथिल्ला वडाहरूमा पनि मतदाताको अभाव उस्तै छ।
प्रशासनको तयारी: वैकल्पिक मार्गको खोजी
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर रेग्मीले हिउँका कारण बाटो बन्द भएपछि वैकल्पिक मार्ग खोजी भइरहेको बताएका छन्। सिमकोट-हिल्सा सडकखण्डको यारी नाका हुँदै लिमी पुग्न सकिन्छ कि भनेर पहल भइरहेको छ। “५ हजार मिटरको लेक तत्काल पार गर्न सकिने अवस्था छैन, हामी विकल्पबारे छलफल गर्दैछौँ,” उनले भने। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले पनि हुम्ला पुगेर स्थलगत जानकारी लिएका छन्। सुरक्षा निकायको ब्रिफिङ अनुसार, मौसम प्रतिकुल भएमा हुम्ला, डोल्पा र मुगुका करिब ४० मतदान स्थल नराम्ररी प्रभावित हुन सक्छन्।
अति संवेदनशील ३५८ मतदान स्थल
कर्णाली प्रदेशभर १० लाखभन्दा बढी मतदाता छन्। निर्वाचन आयोगले यहाँका ९४१ मतदान स्थलमध्ये ३५८ वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। सुरक्षा र कर्मचारीलाई फागुन १८ गतेभित्रै कार्यक्षेत्रमा खटाउने तयारी त छ, तर हिउँले बाटो नछोड्दा मतदानको दिन कतिले भोट हाल्न पाउने हुन् भन्ने कुरा अझै अन्योलमै छ।
प्रतिक्रिया दिनुहोस्