सुर्खेत। चुनावी माहोलले अहिले सुर्खेत–२ तातेको छ। उम्मेदवारहरू मात्र होइन, उनीहरूलाई जिताउन ठूला दलका केन्द्रीय हस्तीहरू नै अहिले यहाँका गाउँबस्ती र गल्लीहरूमा धुलो उडाउँदै हिँडिरहेका छन्। मतदाताको मन जित्न दलहरूले आफ्ना केन्द्रीय नेता, मुख्यमन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई मैदानमा उतारेका हुन्। आफ्नो साख जोगाउन र नयाँ विरासत खडा गर्न दलहरूले अहिले घरदैलो र कोणसभालाई ‘शक्ति प्रदर्शन’ को माध्यम बनाएका छन्।
एमालेको दाउ: मुख्यमन्त्रीदेखि पूर्वमन्त्रीसम्मै मैदानमा
नेकपा एमालेले सुर्खेत–२ मा आफ्नो बलियो उपस्थिति देखाउन ‘हेभीवेट’ टोली नै परिचालन गरेको छ। एमाले उम्मेदवार कुलमणि देवकोटालाई भोट माग्न कर्णाली प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सचिव यामलाल कँडेल आफैँ खटिएका छन्। सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी निर्वाचन आयोगबाट अनुमति लिएर कँडेल वीरेन्द्रनगरका चोकचोकमा पुगिरहेका छन्।

कुलमणिको साथमा पूर्वमन्त्री नवराज रावत, वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल र उपमेयर नीलकण्ठ खनाल लगायतका नेताहरू पनि घरदैलोमा सक्रिय छन्। ठूला नेताहरू नै टोल-टोलमा पुगेपछि एमाले कार्यकर्तामा निकै उत्साह देखिएको छ।
कांग्रेसको रणनीति: ‘थानी’ देखि ‘शाही’ सम्मको साथ
नेपाली कांग्रेस पनि के कम? आफ्ना उम्मेदवार नारायण कोइरालालाई जिताउन कांग्रेसले पुरानो र नयाँ पुस्ताको नेतृत्वलाई सँगै हिँडाएको छ। यसअघिका सांसद एवं पूर्वमन्त्री हृदयराम थानी स्वास्थ्यमा केही समस्या भए पनि पछिल्ला दिनमा सक्रियतापूर्वक भोट माग्न निस्किएका छन्।
नारायणको पक्षमा माहोल बनाउन केन्द्रीय सदस्य तीर्थजङ्ग शाही, प्रदेश सभा सदस्य जानकी सिंह लगायतका नेताहरू गाउँबस्तीमा पुगेका छन्। केन्द्रीय नेतृत्वको उपस्थिति देखेपछि मतदातामा ऊर्जा थपिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी बताउँछन्।

रास्वपा र नेकपाको ‘केन्द्रीय’ जोस
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवारका लागि केन्द्रीय शक्ति खन्याएको छ। सुर्खेतको घण्टाघरमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गरेर कार्यकर्तामा थप जोश भरेका छन्। त्यस्तै, केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले पनि सडक किनारका बस्तीमा पुगेर मत मागेका छन्।
यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आफ्ना केन्द्रीय र प्रदेश तहका नेताहरूलाई चुनावी मैदानमा कमान्डर बनाएर पठाएको छ। उनीहरूले आफ्नो प्रचार अभियानलाई निकै आक्रामक बनाउँदै लगेका छन्।
आचारसंहिताको घेराभित्रै प्रचार
प्रचारप्रसारका क्रममा दलहरूले निर्वाचन आचारसंहितालाई ध्यान दिएको दाबी गरेका छन्। एमालेका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेना भन्छन्, “हामीले नियम पालना गर्दै केन्द्रीय नेतृत्वलाई प्रचारमा जोडेका छौँ।” केन्द्रीय नेताहरूको यो दौडधूपले सुर्खेत–२ को चुनावी परिणाम कता मोडिने हो, त्यो भने फागुन २१ को मतदानले नै देखाउनेछ।
प्रतिक्रिया दिनुहोस्