२०८३ वैशाख ६ , आइतबार
सुर्खेत-२ मा नयाँ अनुहारको 'दबदबा'

कस्तो छ १७ उम्मेदवारको चुनावी दाउपेच ?



सुर्खेत। कर्णालीको राजनीतिमा निकै चासोका साथ हेरिने सुर्खेत क्षेत्र नम्बर २ मा यसपटक चुनावी सरगर्मी ह्वात्तै बढेको छ। विगतमा ठूला दलहरूबीच चुनावी तालमेल र गठबन्धन हुने गरेको यो क्षेत्रमा यसपालि भने चित्र बदलिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा नयाँ र पुराना सबै दलहरू कसैको बैसाखी नटेकी ‘एक्लै’ चुनावी मैदानमा उत्रिएका छन्। रोचक कुरा त के छ भने, यसपटक सबैजसो दलले पुराना ‘हेभीवेट’ नेतालाई विश्राम दिएर नयाँ अनुहारलाई अघि सारेका छन्। १७ जना उम्मेदवारको भीडमा सबैको एउटै स्वर छ— “अबको पालो नयाँ पुस्ता र विकासको।”

१. कांग्रेसका नारायण: संगठनको जगमा पहिलो परीक्षा

नेपाली कांग्रेसले यसपालि पुराना नेता हृदयराम थानीको ठाउँमा नयाँ अनुहार नारायण कोइरालालाई मैदानमा उतारेको छ। २०४७ सालदेखि नेविसंघबाट राजनीति सुरु गरेका नारायण तरुण दलको जिल्ला अध्यक्ष हुँदै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिसम्म भइसकेका छन्।

पहिलोपटक संसदीय चुनाव लड्दै गरेका उनी भन्छन्, “मैले संविधानको रक्षा र नयाँ पुस्ता (जेनजी) को भावना बुझेर उम्मेदवारी दिएको हुँ।” उनले आफ्नो क्षेत्रको स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेका छन्।

२. नेकपाका झकबहादुर: ‘जेलब्रेक’ देखि चुनावी मैदानसम्म

माओवादी आन्दोलनबाट आएका र हाल नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का केन्द्रीय सदस्य रहेका झकबहादुर मल्ल यस क्षेत्रका पुराना खेलाडी भए पनि संसदीय चुनावमा नयाँ हुन्। २०५८ सालको चर्चित सुर्खेत ‘जेलब्रेक’ का कमान्डर मल्लले युद्धमा आफ्नो परिवार नै गुमाएका थिए।

“म शासक बन्न होइन, सेवक बन्न आएको हुँ,” उनी भन्छन्। उनले कुनै लामो घोषणापत्र बाँडेका छैनन्, बरु जनताका दैनिक समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। माओवादीले २०७० पछि पहिलोपटक यहाँ आफ्नै उम्मेदवार उठाएकोले उनको उपस्थिति अर्थपूर्ण छ।

३. रास्वपाका रमेश: ‘भुइँमान्छे’ को आवाज

यसअघि कांग्रेसको नगर सचिव भइसकेका यातायात व्यवसायी रमेशकुमार सापकोटा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ‘घण्टी’ बजाउँदै भोट मागिरहेका छन्। काँक्रेविहार यातायातका अध्यक्ष समेत रहेका उनी आफूलाई ‘भुइँमान्छे’ भन्न रुचाउँछन्।

उनको तर्क छ, “जनताले परिवर्तन खोजेका छन्, त्यसैले म मैदानमा छु।” उनले रास्वपाको मुख्य मुद्दा नै नयाँ पुस्ता र भ्रष्टाचार नियन्त्रण भएको दाबी गरेका छन्।

४. एमालेका कुलमणि: वडाध्यक्षदेखि सांसदको दौडसम्म

नेकपा एमालेले आफ्ना जिल्ला अध्यक्ष कुलमणि देवकोटालाई टिकट दिएको छ। २०५४ सालमा जर्वुटाको वडाध्यक्ष जितेका देवकोटासँग स्थानीय प्रशासन चलाएको अनुभव छ। सुर्खेत उपत्यका खानेपानीमा लामो समय नेतृत्व गरेका उनले विकास र प्रणाली (सिस्टम) लाई आफ्नो चुनावी मुद्दा बनाएका छन्।

“कागजी घोडाजस्तो सेवा प्रवाह होइन, जनताले महसुस गर्ने गरी काम गर्ने मेरो लक्ष्य छ,” उनी बताउँछन्। खानेपानी र ठूला पूर्वाधार निर्माणमा उनको जोड छ।

मैदानमा १७ जना: कसको पल्ला भारी ?

सुर्खेत-२ मा यी चार मुख्य प्रतिस्पर्धी बाहेक अन्य १३ जना पनि चुनावी दौडमा छन्। साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि नयाँ पुस्ताको ‘जेनजी’ आन्दोलनलाई आफ्नो एजेन्डा बनाएका छन्।

चुनावी मैदानका अन्य पात्रहरमा राप्रपाका कविराम पुरी नेमकिपाका तुल्छी खड्का, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, जसपा नेपालका दीपबहादुर नेपाली र स्वतन्त्र उम्मेदवार रमेश परियार , उदीराम चुनारा र कृष्ण खत्री (लगायत १७ जना) चुनावी मैदानमा छन् । सबै उम्मेदवार नयाँ भएकाले मतदाता पनि यसपटक कसलाई छान्ने भन्नेमा निकै सचेत देखिएका छन्। विगतको विरासत जोगाउन पुराना दललाई चुनौती छ भने नयाँ दललाई आफ्नो अस्तित्व जोगाउनु पर्ने दबाब छ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार