२०८३ साउन १३ , बुधबार
प्राेफाइल

सिंहले खोजिरहेका छन् विजयीको झण्डा फहराउने दाउ !



राजनीतिमा धैर्यताको सीमा कति हुन्छ ? कसैले तीन दशकसम्म एउटै छहारीमा बसेर बिना कुनै पद सेवा गरिरहन्छ भने त्यसलाई समर्पण मान्ने कि बाध्यता ? सुर्खेत क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार टेकबहादुर सिंहले यस्तै नियती भोगे ।

नेपाली कांग्रेसकाे लागि उनले के सम्म गरेनन ? जीवनको उर्जाशिल समय खर्चिए । कांग्रेसका लागि ज्यानको बाज्जी थापे । माओवादी सशत्र विद्रोहको बेला गाउँमै बसेर कांग्रेसको जगेर्ना गरे । कार्यकर्ताको हौसल्ला बढाए । कांग्रेस भएबाफत माओवादीबाट मरणतरण हुनेगरी कुटिए । फलस्वरूप पुरानै अवस्थामा फर्किन लामो समय औषधिकाे सहार लिन पर्याे । ती चाेटका पीडा मनमा मात्र हाेइन, शरीरमा पनि अझै बाँकी छ । अहिले पनि उनको शरीरमा  माओवादीको कुटेइबाट बनेका खाटाहरु छन् । चिसो मौसममा अस्यह पीडा हुन्छ । उमेर ढल्कदै जाँदो शरीरको दुखाई बढ्दै गएको छ ।

बिडम्बना, जीवन नै समर्पित गरेकाे जनताबाट अनुबन्धित हुन पाएनन । पाउन त उनले २०७४ सालमा सुर्खेत क्षेत्र नम्बर १ को क बाट प्रदेशसभा सदस्यकाे उम्मेद्वार भएका थिए । तर मतदाताले विजय गराएनन । त्यसयता पार्टीले कुनै अवसर नै दिएन । तीन दशक बढी अर्थात ३४ वर्षसम्म योगदान गरेपनि वडाध्यक्षसम्म बन्न पाएनन् । अन्तत : धैर्यताको बाँध फुटेपछि भारी मन बनाएर रास्वपा हाम फाल्न बाध्य भएका छन् । जीवनको उतारार्धमा फेरि रास्वपा हुर्काउन कस्सीएका छन् । भलै रास्वपाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका टिकट दिएको छ । जित्ने नजित्ने त्याे मतदाताकाे हातमा छ । तर उनै पूराना कार्यकर्तालाई मत दिएर बिजयी गराउन बिन्ती बिसाउँदै छन् । ‘तपाइ भोट दिनोस्, म तपाइको सेवा गर्छु’ दुई हातका दश औला जोडेर सबै मतदातासँगै एउटै शर्त राख्छन्, ‘मलाई तपाइको सेवा अवसर दिनास् बाटो घाटो, पानी पधेरो, कृषि, सडक, शिक्षा र स्वास्थ्यको विकास गर्ने जिम्मा लिन्छु ।’

सुर्खेतको सिम्ता–४, रोटीडेरामा २०२८ साल जेठ ११ गते आमा पट्कु र बुवा प्रेम सिंहबाट जन्मिएका ५४ वर्षीय सिंहले जीवनको सक्रिय उमेर कांग्रेसमै समर्पित गरे । २०४८ सालदेखि नेपाली कांग्रेसको ‘लाठी र झण्डा’ बोकेर गाउँ–गाउँ पुगेर कांग्रेसलाई हुर्काए । अहिले भने त्यही पुरानो घर छाडेर नयाँ बाटोमा हिँडेका छन् । हिजो कांग्रेस जिताउन पसिना बगाउने उनै टेकबहादुर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा छन् ।
उनको राजनीतिक जग नेपाल विद्यार्थी संघबाट ठडिएको हो । सुर्खेतको जीवन ज्योती विद्यालयमा पढ्दै गर्दा उनी इकाइ अध्यक्ष बनेका थिए । २०४८ सालको आम निर्वाचनमा कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्कालाई जिताउन उनी अहोरात्र खटिए । त्यसपछिका हरेक निर्वाचन–२०५१, २०५६, २०७० र २०७९ मा पनि उनले पूर्णबहादुरकै लागि भोट मागे ।
संगठनमा उनको पकड बलियाे थियो । २०५५ सालपछि गाउँ इकाइ सभापति बनेका उनी कांग्रेसको १३ औं महाधिवेशनबाट जिल्ला उपसभापति भए । तर, १४ औं महाधिवेशनपछि भने उनले आफूलाई पार्टीभित्र ‘बेवारिसे’ महसुस गर्न थाले । कुनै ठोस जिम्मेवारी नपाएपछि र पार्टीभित्रको गुटबन्दीले थिचेपछि २०८२ मंसिर २६ गते मन पीराे बनाउँदै कांग्रेससँगको ३४ वर्ष लामो साइनो तोडेर रास्वपा यात्रामा सरिक भए ।

सायद यही दुःख, संघर्ष र समर्पनका कारण हाेला  कुनै बेला अाफैले मलजल गरेर हुर्काएको कांग्रेसप्रति उनि निकै आक्रामक देखिन्छन् । ‘हामीले जहाँनिया राणा शासन र राजतन्त्र ढाल्यौँ, तर नेताहरूमा अझै पनि भुरे टाउके राजा हुने रहर मरेको छैन,’ उनी आक्रोश पोख्छन् । सुर्खेत क्षेत्र नम्बर १ मा वर्षौँदेखि एकै व्यक्तिले रजाइँ गरेको र अहिले आफ्नै भाइलाई अघि सारेको देख्दा उनी दंग छन् ।
उनको प्रश्न छ, ‘सकुञ्जेल दाजु, नभएपछि भाइ, त्यसपछि फेरि परिवारकै सदस्य ? के जनताले यस्तै व्यवस्थाका लागि रगत बगाएका हुन ? कांग्रेसमा नेतृत्व नबदलिएको भए फेरि पनि पूर्णबहादुर नै उम्मेदवार हुने र आफूहरू जस्ता कार्यकर्ता सधैँ झण्डा मात्र बोकेर हिँड्नुपर्ने उनको दाबी छ ।

राजनीति मात्र होइन, टेकबहादुरले समाज सेवामा पनि बलियो पदचाप छाडेका छन् । उनकै अगुवाइमा सुर्खेतमा तीन वटा सामुदायिक विद्यालय स्थापना भएका छन्, जसमा बीपी कोइरालाको नाममा खोलिएको विद्यालय पनि समावेश छ । अहिले पनि उनी जीवन ज्योती उच्च माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन् ।
औपचारिक रूपमा एसएलसीसम्म मात्र अध्ययन गरे पनि उनले शिक्षाको महत्व बुझेका छन् । गाउँका स्कुलमा शिक्षक अभावहुँदा वा दरबन्दी खाली रहँदा उनले आफैँ कक्षाकोठामा पुगेर पढाउने समेत गरेका थिए ।
‘मैले राजनीतिलाई सधैँ समाजसेवा ठानेँ, तर ठूला नेताहरूले यसलाई बेइमानी लुकाउने थलो बनाए’ टेकबहादुर भन्छन् । यस पटकको चुनावमा उनले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र किसानका मुद्दालाई मुख्य एजेन्डा बनाएका छन् । सिंचाइ सुविधा र समयमै मल–बीउको उपलब्धता सुनिश्चित गर्ने, बाँझो जमिनमा चिया बगान र फलफूल खेती विस्तार गरी पकेट क्षेत्र घोषणा गर्ने, बजार ग्यारेन्टीः किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य र बजारको व्यवस्था गर्ने जस्तो मुद्धाहरु उठाएरका छन् । विगतमा कांग्रेसमा रहँदा कमाएका समर्थक र शुभचिन्तकहरू नै आफ्नो जितको मुख्य आधार भएको उनको ठम्याइ छ । ‘पार्टीले मलाई विश्वास गरेर टिकट दिएको छ, अब जनताले पत्याउने पालो आएको छ,’ उनी ढुक्क देखिन्छन् ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार