२०८३ असोज १ , बिहीबार
प्राेफाइल

अग्निपरीक्षामा जीतबहादुर : हिजो अरूलाई भोट मागे, आज आफैँ मैदानमा !



मध्यम परिवार तर नपुग्दो केही थिएन् । पेटभरी खान र आनन्दले बस्ने वातावरण थियो । त्यसैमा समाजले पत्याएको शिक्षण पेशा । दिनभरी बालबालिकालाइ ज्ञान र नैतिकता सिकायाे । विहान बेलुका घरपरिवारसँग सुखदुख साट्ने पाइन्थ्यो । सुखको स्थायी जागिर छोडेर के बहादुरी पलायो या समाज रुपान्तरण गर्छुभन्ने क्रान्तिकारी सोच आयो । २०५८ सालको कुरा हो । माओवादीले थालेको जनयुद्धका कारण मुलुकमा शान्तिको वातावरण थिएन । मार्ने र मर्नेको लेखाजोखा थिएन् । त्रासैत्रासको त्यो वातावरणमा जीतबहादुर रानाले कुनै प्रवाह नगरी क्रान्तिको बिगुल फुक्न हिडे । सर्वहारा बर्ग र जनताको मुक्तीका लागि भन्दै स्थायी जागिर र सुखसयल छोडेर क्रान्तिमा होमिए । भलै जनताले चाहेको शान्ति र मुक्ति आजसम्म पनि आउन सकेको छैन ।


हो, तिनै व्यक्ति आज जनताबाट अनुबोदित भएर संसदमा पुग्ने लाइमा उभिएका छन् । सुर्खेतको राजनीतिमा बौद्धिक र सालिन नेताका रूपमा चिनिने जीतबहादुर पहिलाे पटक सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन्  । बुवा भवाने र आमा सुशिला रानाबाट २०२८ साल माघ २० गते चिङ्गगाड–५ सुर्खेतमा उनको जन्मिएका रानाको जीवनका घुम्तीहरू निकै रोचक छन् । २०४६ सालदेखि राजनीतिमा जोडिएका उनले केही समय ‘गुरुजी’ बनेर शिक्षण पेसा पनि सम्हाले । तर, २०५६ मा स्थायी शिक्षकको जागिर त्यागेर उनी पूर्णकालीन राजनीतिमा होमिए । २०५८ मा एमाले छाडेर माओवादीको भूमिगत आन्दोलनमा सामेल भए । २०४७ मा तत्कालीन मालेको सदस्य भएर राजनीतिको मियो पकडीएका रानाले २०४८ हालको सुर्खेत क्षेत्र नं. १ मा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियको अध्यक्ष भए । २०५३ सालमा एमालेको संगठित सदस्य लिएका रानाले छोटो समयमै एमाले परित्याग गरे । २०५८ सालमा तत्कालीन माओवादी केन्द्रको अवलचिङ्ग गाजस प्रमुख भएर पूर्णकालिन राजनीतिमा होमिएका राना २०५९ मा माओवादीको सैन्य उपव्यूरो सदस्य भए । २०६० मा तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमिसार भएका उनी राजनीति गरेर जनताको सेवा गर्न भन्दै सेना समायोजनमा गएनन् । २०६४ मा बुद्धिजीवि परिषद सुर्खेतको अध्यक्ष, २०७० मा बुद्धिजीवि परिषदको केन्द्रीय उपाध्यक्ष र २०७१ मा नेकपा माओवादी केन्द्र सुर्खेतको सचिव भएर जिम्मेवारी निर्वाह गरेका उनी २०८२ सालमा माओवादी केन्द्र सुर्खेतको जिल्ला संयोजक भएका थिए । हाल उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य छन् ।

जीतबहादुरको यो पहिलो संसदीय यात्रा हो, तर उनी यो क्षेत्रका लागि नयाँ अनुहार भने होइनन् । विडम्बना कस्तो छ भने, २०७४ को चुनावमा उनले एमालेका ध्रुव शाहीका लागि भोट मागेका थिएभने २०७९ मा कांग्रेसका पूर्णबहादुर खड्कालाई जिताउन कम्मर कसेर लागे । अहिले परिस्थिति बदलिएको छ; हिजोका ती ’सहयोद्धा’ हरू नै आज उनका मुख्य प्रतिस्पर्धी बनेका छन् । उनले ठट्यौली पारामा तर गम्भीर हुँदै भनेका छन्, “कांग्रेस र एमालेलाई पालैपालो भोट मागेर हिँडियो, यसपटक आफैँ उम्मेदवार छु- जनता र मेरो पार्टी दुवैको परीक्षा छु ।
सुर्खेत–१ को इतिहास हेर्दा यहाँ कांग्रेसले पाँच पटक र एमालेले दुई पटक बाजी मारेका छ । कांग्रेसका पूर्णबहादुर खड्काले विरासत जमाएको यो क्षेत्रमा यसपटक उनका भाइ विष्णुबहादुर खड्का र एमालेका ध्रुव शाहीसँग जीतबहादुरको कडा टक्कर पर्ने देखिन्छ । यसबाहेक रास्वपाका टेकबहादुर सिंह र राप्रपाका रविकिरण हमालको इन्ट्रीले प्रतिस्पर्धालाई झन् रोमाञ्चक बनाएको छ ।


बौद्धिक छविका रानासँग क्षेत्रीय अस्पताल र नगर विकास समितिको नेतृत्व सम्हालेको अनुभव छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति शास्त्रमा दख्खल राख्ने उनी राजनीतिलाई मात्र पेसा बनाउँदैनन; उनको मुख्य आयस्रोत खेतीपाती नै हो । “हाम्रो क्षेत्र हामी बनाउँछौँ’ भन्ने नारा बोकेर हिँडेका रानाको मुख्य एजेन्डा विभेदको अन्त्य, व्यावहारिक शिक्षा र किसानमैत्री कानुन निर्माण हो ।
तथ्याङ्कका आधारमा केही कमजोर देखिए पनि उनी जनतामा रहेको आक्रोशलाई आफ्नो पक्षमा पार्दै ‘सरप्राइज’ नतिजा निकाल्ने दाउमा छन् । के हिजो अरूको लागि भोट माग्ने जीतबहादुरले यसपटक आफ्नै लागि भोट बटुलेर संसद्को यात्रा तय गर्लान् त ? यो हेर्न फागुन २१ को नतिजा नै कुर्नुपर्नेछ ।

 

प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार