२०८३ वैशाख ६ , आइतबार
शिक्षालाई श्रम र बजारसँग जोड्ने जमर्को

सुर्खेतमा ‘सीप मेला’ को नवीन अभ्यास



सुर्खेत । किताबी ज्ञानको घेराभित्र मात्र सीमित रहेको हाम्रो वर्तमान शिक्षण प्रणालीलाई जीवनको व्यावहारिक मैदानमा उतार्ने एउटा नवीन प्रयास कर्णालीमा सुरु भएको छ। वीरेन्द्रनगरस्थित सिद्धपाईला ईङ्लिस मिडियम सेकेण्डरी स्कुलले आफ्नो १८औँ स्थापना तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरेको ‘सीपमा आधारित बृहत् सिकाई मेला’ ले शिक्षा क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ। यो मेला केवल प्रदर्शनी मात्र थिएन, बरु बालबालिकाको पठनपाठन शैलीलाई जीवनोपयोगी र उत्पादनमुखी बनाउने एउटा गम्भीर परीक्षण पनि थियो।

प्रायः विद्यालयहरू नतिजा र मार्कसिटको दौडमा व्यस्त भइरहँदा सिद्धपाईलाले भने विद्यार्थीलाई ‘सिक्ने र सिकाउने’ पद्धतिको एउटा पृथक् ढाँचा प्रस्तुत गरेको छ। विद्यालयका प्राचार्य नैनसिंह खत्रीका अनुसार, शिक्षालाई केवल स्मृतिमा मात्र होइन, हातका औँलाहरूमा पनि उतार्नु नै यो मेलाको मुख्य दर्शन हो।

परम्परादेखि आधुनिक प्रविधिसम्मको सेतु

मेलाको एउटा पाटोमा परम्परागत सीप र प्रविधिहरूको प्रत्यक्षीकरण गरिएको थियो भने अर्कोतर्फ आधुनिक विज्ञान र सूचना प्रविधिको प्रयोगलाई देखाइएको थियो। विद्यार्थीहरूले केवल सैद्धान्तिक रूपमा पढेका विषयहरू— जस्तै पाकशिक्षा (कुकिङ), करेसाबारी तथा कौसी खेती, र आपत्कालीन सुरक्षाका उपायहरूलाई व्यवहारमै अभ्यास गरेर देखाए। यसले विद्यार्थीलाई दैनिक जीवनका व्यवहारमा आत्मनिर्भर बन्न सिकाउने मात्र होइन, उनीहरूभित्र लुकेको प्रतिभा पहिचान गर्न समेत मद्दत पुर्याएको छ।

सांस्कृतिक झाँकी र मौलिक नृत्यको लयसँगै व्यावसायिक मर्मत र प्राविधिक सीपको प्रदर्शनीले मेलालाई बहुआयामिक बनाएको थियो। यसले के सन्देश दिएको छ भने— शिक्षा अब कक्षाकोठाको चार पर्खालभित्र मात्र कैद हुनु हुँदैन, यसले समाजको आवश्यकता र श्रमको सम्मानलाई पनि आत्मसात् गर्नुपर्छ।

श्रम, उत्पादन र बजारीकरणको त्रिवेणी

प्राचार्य खत्रीको एउटा गहन तर्क छ— “जबसम्म सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारीकरणसँग जोड्न सकिँदैन, तबसम्म शिक्षाले समाजलाई सही दिशा दिन सक्दैन।” यो मेलाले परम्परागत शिक्षण प्रणालीमा सूचना र प्रविधिले ल्याएको परिवर्तनलाई कसरी मानव व्यवहारमा उतार्न सकिन्छ भन्ने बाटो देखाएको छ।

अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक भूमिकालाई एउटै थलोमा ल्याएर आयोजना गरिएको यो मेलाले शिक्षालाई परिणाममुखी बनाउन सरोकारवालाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको तथ्यलाई पुनः पुष्टि गरेको छ। कर्णाली प्रदेशमै पहिलो पटक गरिएको यस प्रकारको बृहत् सिकाई अभ्यासले अन्य शिक्षण संस्थाहरूलाई पनि किताबी बोझबाट मुक्त भएर ‘व्यवहारिक शिक्षा’ तर्फ लाग्न प्रेरणा दिने निश्चित छ।

प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार